site stats
बाह्रखरी :: Baahrakhari
देश
भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला प्रकरण : गृहमन्त्रीद्वारा छानबिन गर्न निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइएपछि त्यसबारे अनुसन्धान गर्न निर्देशन दिएका छन् । 

पक्राउ परेका महिलाहरूको विषयमा कडा अनुसन्धान गर्न मन्त्री  लेखकले प्रहरीलाई निर्देशन दिएका हुन् । 

उक्त विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन व्यूरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्री लेखकले वैदेशिक रोजगारीमा अवैध रूपमा जाने विषयको गहन अनुसन्धान गर्न निर्देशन दिएका छन् । 

भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेको ४७ जना नेपाली महिलाहरुलाई नेपाल फकाइएको थियो । दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रुपन्देही पुर्‍याइएको छ ।

दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई सुनौली नाका हुँदै रुपन्देही पुर्‍याएर प्रशासनको जिम्मा लगाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिएका छन् । प्रजिअ घिमिरेका अनुसार महिलाहरूलाई अहिले प्रहरीले काठमाडौं ल्याइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  ०६:४२
प्रतिक्रिया दिनुहोस्