site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
पहिले अन्त्य सोचेर कथा लेख्नुस् !

कृपया अब कथाको थप परिभाषा नदिनोस्, पर्याप्तभन्दा बढी छ । जति परिभाषा छन् तिनकै काँडाघारीमा अलमलिएको छ कथा । परिभाषा पढेर कथा लेखिँदैन, यद्यपि परिभाषाहरूको निर्माण रोकिने होइन ।

कथा स्वच्छन्दतापूर्वक लेख्न पनि छाडिने होइन । एउटा निजी स्थापना यस्तो पनि के छ भने पहिले कथाको अन्त्य सोच्नोस् । यो मेरो अत्यन्त निजी भनाइ हो । पहिले कसैले भनिसकेको भए क्षमाप्रार्थी छु । तैपनि, यस्तो स्थापना अहिलेसम्म पढ्न पाएको छैन । अन्त्य तय छ भने कथाको निर्माण सहज हुन्छ ।

जुन कथाको अन्त्य नै छैन त्यस कथालाई जति तन्काउँदा पनि हुन्छ । यद्यपि, तन्काउनुको पनि आफ्नै एउटा कला हुन्छ । त्यसलाई हामी भाषाको खेल भन्न सक्छौँ ।

भाषाको खेल तब झन् मज्जाको हुन्छ, जब त्यो कथाको अन्त्य अत्यन्त सोचविचारका साथ तय गरिएको हुन्छ । अनि, भाषाको खेल खेल मानिँदैन कथाको भाषा भइजान्छ र त्यसले एक किसिमले कथाको नवीन प्रयोग भन्ने मान्यता प्राप्त गर्दछ ।

नयाँ कथाकारहरूलाई यही सल्लाह छ, निर्देशन पनि । अचेल राजनीतिमा धेरैजसो निर्देशन नै चलिरहेछ । काम कम निर्देशन बढी । त्यसैको अनुसरणमा यो निर्देशन आएको हो नयाँ कथाकारहरूलाई, पहिले कथाको अन्त्य सोच्नोस् । 

निर्देशनको पालना कुनै क्षेत्रमा पनि हुँदैन, न राजनीतिमा न प्रशासनमा, न साहित्यमा । यहाँ पनि त्यही हालत हुने हो ।

तर, यो पक्का छ अन्त्य नभएपछि वा अन्त्य नभएको कथा वा अन्त्यबिना कथा कथा हुनै सक्तैन । अन्त्य तय नभएसम्म कथाका लागि कलम नै नचलाउनोस् । कम्प्युटर चलाउनुहुन्छ भने किबोर्ड छुँदै नछुनोस् । यो निषेध होइन, यो मात्र एउटा भनाइ हो । सल्लाह । अन्ततः निर्देशन !

तपाईं अन्त्यबिनाको कथा लेख्न सक्षम हुनुहुन्छ भने त्यो एउटा उपलब्धि हो । तर, मलाई लाग्छ– अन्त्यबिनाको कथा कथै हुन्न । कथाको बाध्यता नै त्यही हो, अन्त्यबिना कथा नहुनु ।

अब यसमा बहस आवश्यक छैन । यो मेरो स्थापना हो र होइन पनि । होइन यसकारण, कसैले अन्त्यबिना पनि कथा हुनसक्छ भनेर प्रमाणसहित कुरा गर्छ वा लेख्छ भने र त्यसले मान्यता पाउँछ भने कुरै सकियो । विवाद र बहस आवश्यक देख्दिनँ म ।

बहस र विवाद गर्ने त म नै हुँ, किनभने अन्त्यबिना कथा कथै हुन सक्तैन भनेर स्थापना दिन तम्सिने म नै हुँ । तर, म यहाँ यो दरोसाथ भन्न चाहन्छु— म बहस र विवादमा अल्झिएर समय खेर फाल्ने व्यक्ति होइन ।

तर, म यति भन्न सक्छु— यो स्थापना लेख्ने म पहिलो व्यक्ति हुँ । ध्यान रहोस्, सगरमाथामा पहिलो मानव पाइला राख्न तेन्जिङ शेर्पा मलाई हुनु छैन । सगरमाथा उक्लिने मेरो क्षमता छैन ।

कसैले मलाई थपक्क उचालेर सगरमाथाको चुचुरोमा राखिदियो भने पनि सगरमाथाको चुचुरो टेक्ने म पनि एक व्यक्ति हुँ भन्ने चाहना ममा छैन । तर, यो चुरीफुरी किन ? मलाई कसले त्यस्तो अवसर जुराइदेला जसले थपक्क न बुई बोकेर सगरमाथाको चुचुरोमा लगेर पाइला टेकाइदेओस् !

त यो हो कुरो, साहित्य एउटा गहिरो कुरो हो  । गहिरो र विस्तृत । अब यो कथाको अन्त्य पहिले सोच्नोस् र अनि कथा लेख्न बस्नोस् भन्ने स्थापना पनि साहित्यको इतिहास थाहा पाउने अथवा साहित्यको इतिहास लेख्नेले भन्न सक्ला— यो स्थापना पहिले पनि साहित्यमा आइसकेको छ ।

तर, साहित्यको इतिहास लेख्नेले अहिलेसम्म करेक्ट र यथार्थ इतिहास लेख्नै सकेको छैन । साहित्यको इतिहास लेख्ने मानिसमा पनि ईष्र्या र द्वेष नहुने होइन ।

सम्भव छ ऊ पनि ईष्र्या र द्वेषमा परेर वा अज्ञानतावश साहित्यको इतिहासमा अनेक कुरा लेख्न जानाजान छुटाएको हुनुपर्छ । बिचरा ! यस्तो हुन्छ । साहित्यको म सम्पूर्ण जानकार हुँ भन्न मिल्दैन ।

साहित्य नै त्यस्तो विषय हो जो कहिल्यै खोजेर पूरा थाहापत्तो पाउन सकिन्न । यसलाई अर्को तरिकाले भन्दा सम्पूर्ण साहित्यको जानकार म हुँ भन्ने अभिमान कसैले नगरोस् ।

मेरो भनाइ यत्ति हो, कथा लेखनमा कथाको अन्त्य पहिले सोचेर कथा लेख्न आरम्भ गर्नु श्रेयस्कर हुन्छ । यसो भन्ने पहिलो व्यक्ति म नै हुँ । मलाई विस्थापित गर्न साहित्यको सम्पूर्ण जानकार वा सम्पूर्ण साहित्यको जानकार व्यक्ति पृथ्वीमा निस्कनुपर्‍यो । 

पृथ्वीमा नभए नेपाली साहित्यमा मात्रै । यो हेर्नोस्, एक प्रकारको दंगाफसाद निम्त्याउने क्लेम हुनसक्छ । साहित्यको दंगाफसादमा दंगानियन्त्रक प्रहरी चाहिँदैन । यो सुसौभाग्य साहित्यमा मात्र प्राप्त छ ।

क्लेमको कुरो छ त बहुतै उच्चकोटिको । विश्वविद्यालयबाहिरफेर नेपाली पढ्नेहरू र साहित्यमा विशेष गरी कथाका पाठकहरूबीच भूकम्प जान सक्छ । ती तरंगित हुन सक्छन्, तापनि भन्नु यत्ति हो– कथाको अन्त्य पहिले सोच्नू, अन्यथा कथा पकडबाहिर जान सक्छ ।

कुरो दोहोरिन सक्छ, तर कुरो टुंगिएको छैन र कुरो त्यही हो, कथाको अन्त्य पहिले तय गर्नोस् । र, आआफ्ना कलम समात्ने वा कम्प्युटरको किबोर्ड औँलाले ठुङ्ने वा चर्ने काम गर्नोस् । त्यसले उपलब्धि पाउन सकिन्छ ।

हेर्नोस्, अन्यथा भाष्यमा नजानोस् । मात्र कत्ति भने यो एउटा गद्यको रमाइलो कथन हो, कथाको अन्त्य पहिले सोच्नोस् । कुरो सैद्धान्तिकजस्तो पनि छ, तर अत्यन्त व्यावहारिक छ है । सिद्धान्त र दर्शनले साहित्यलाई अग्रगामी कदम चाल्नबाट जकडिरहेको बेला यो एउटा नयाँ कथन जुन व्यावहारिक छ, आएको छ । कथाको सुविचारित अन्त्यले कथालाई नयाँ पथगामी बनाउन सक्छ ।

यस्तो भन्नु कुनै विजेताको भाव होइन, एउटा मान्यता प्रस्तुत गर्ने काम मात्र गर्न खोजिएको छ । यद्यपि, यो भनाइमाथि अनेक प्रहार हुन सक्छन् । तर, जसले यो लेखेको छ ऊ अलग्ग भएर तटस्थ बस्ने तरखरमा छ ।

मेरो भनाइका पछि लागेर मेरो खण्डन र मसँग विवाद–बहस गर्नतिर लाग्नुभयो भने त्यसको प्रतिक्रिया मसँग छैन । मैले भनेँ र नयाँ प्रस्तावनास्वरूप भन्न सकेँ— कथाको अन्त्यले नै कथा बन्छ ।

म यसैमा प्रफुल्ल छु । बाँकी विवेचन–मन्थन जजसलाई चित्त बुझ्दैन यस भनाइदेखि, उनैले गरून् ।

भन्नका लागि त धेरैको धेरै होला– यो के बहुलट्ठी हो, कथाको अन्त्य नसोची कसैले कथा लेख्छ र ! तर, यो बहसका लागि बहस नै त होइन । म यत्ति मात्र भनिरहेछु— कथा लेख्नुभन्दा पहिले कथाको अन्त्य सोच्नोस् ! कथाको अन्त्य तय गरेपछि कथाकार कथालाई लामोछोटो कसरी लेख्ने हो, त्यसमा डुब्छ ।

कथाका परिभाषाहरू कथाकारले पाठ्यक्रममा पढेर घोकेर उत्तीर्ण हुँदै आए पनि उसले निजी रूपमा आर्जन गरेको लेखनशैली वा कथाशिल्प उसको कथाको अन्त्यअनुरूप विकसित वा फुरेको हुन्छ ।

कथा लामो वा छोटो हुनुको सरोकार कथाकारसँग हुन्छ र अन्त्य तय भएको कथालाई परिपूर्णता दिने क्रम र कार्य कथाकारले निर्वाह गर्दै जान्छ वा निर्वाह गर्दै ल्याउँछ ।

कथाको अन्त्य नसोचेरै कसैले लेख्दैन भन्नु वा समग्र कथा नसोची कसैले कथामा कलम चोप्दैन (कम्प्युटरको आविष्कारभन्दा पहिलेको भनाइ)   लेख्दैन भन्नुमा खासै वा प्रबल शक्ति छैन ।

कथाको अन्त्य पहिले दिमागमा आएको छैन भने कथाले तपाईंलाई भुमरीमा पार्छ । यो निश्चित छ । म निश्चित छ भनिरहेछु, किनभने सोध्न सकिन्छ– के यस्तो भुमरीमा तपाईं पर्नुभएको छ ?

परे पनि नपरे पनि यो एउटा अनुमानगम्य कुरो हो । यसमा विवाद छैन । तपाईं जहाजलाई कता लैजाने भनेर लक्ष्य निर्धारण नगरेसम्म त्यसैत्यसै पानीमाथि वा हावामा कुदाइरहनुहुन्न । यति सानो कुरो नबुझ्नु पनि छैन ।

कथाको लक्ष्य त्यै पहिलेदेखि निर्धारित अन्त्य हो त ? भन्नुहोला । हो पनि र हैन पनि । यी दुवै हो र होइनको पर्याप्त तर्कपूर्ण जवाफ मैले सोचेको छैन । एउटा लहडको कुरो थियो, मनमा आएको कि पहिले कथाको अन्त्य सोचेर लेख्नुपर्छ ।

त्यही भनेको हुँ स्थापनास्वरूप । यसमा बहसविवाद छैन । जसले जेजति भनोस्, त्यसको जवाफ वा उत्तरप्रत्युत्तर मबाट आस नगर्नू । बहसमा पर्ने मेरो स्वभाव छैन ।

यति भनेर यसको समापन गर्दा हुने हो, तर केही भन्न बाँकी छ भनेझैँ भइरहेको छ । बाँकी अरू कुनै बेला, तर बहस र विवाद होइन । जे भनेको छु त्यो नै पर्याप्त मानियोस् ।
 

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १०:०६
प्रतिक्रिया दिनुहोस्