केही वर्षदेखि मधुमेह (डाइबिटिज) तीव्र गतिमा बढिरहेको रोगहरूमध्ये एउटा हो । हालको तथ्यांक हेर्दा संसारभर लगभग ६० करोड मानिसलाई मधुमेह भइसकेको छ । आउने केही वर्ष (सन् २०५०)मा यो संख्या ८० करोड नाघ्ने प्रक्षेपण छ । हरेक नौमध्ये एक जनामा मधुमेह भएको तथ्यांक छ ।
विगत केही समयदेखि यो ‘ग्लोवल प्यान्डामिक’का रूपमा बढिरहेको छ । मधुमेहको ‘राजधानी’ चीन र भारत हो । विश्वमा सबैभन्दा धेरै जनसंख्या भएका देश पनि यिनै दुई हुन् । नेपालमा जनसंख्याको ८ देखि १० प्रतिशतमा मधुमेह रहेको बताइन्छ । प्रस्तुत छ, डा. प्रियादर्शिनी योञ्जनसँग न्युज एजेन्सी नेपालले नेपालमा मधुमेहको अवस्था, उपचारबारे गरेको कुराकानीको सम्पादित अंश ।
मधुमेहको मुख्य कारण ?
हाम्रो अहिलेको जीवनशैली पहिलेको भन्दा धेरै नै फरक छ । पहिला संसारभर नै जति एक्टिभ खालको जीवनशैली हुन्थ्यो, मान्छेहरू धेरै हिँड्थे, अहिले त्यस्तो खालको वातावरण छैन । सहरतिरको अलिक छिटो लाइफस्टाइल हुन्छ । बाहिरतिर खाने, स्ट्रेसफुल कामको इन्भाइरोमेन्टका कारणहरूले गर्दा मोटोपनाको मात्र पनि मानिसहरूमा बढिरहेको हुनाले डाइबिटिजको संख्या बढिरहेको हो ।
त्योसँगसँगै मानिसहरू अलिक सचेत भएर परीक्षण गर्ने टाइमिङ पनि अलिक छिटोछिटो भएको हुनाले यसले बढिरहेको देखाएको हो । तर, मुख्य कुरा जीवनशैलीकै कारण अहिले मधुमेह बढिरहेको हो ।
अर्को के कुरा याद गर्नुपर्छ भने, मधुमेह भएको व्यक्तिमा जुन खालको लक्षणहरू हुन्छ, जस्तो कि तिर्खा लाग्ने, पिसाब लाग्ने, घाउ निको नहुने, तौल घट्दै जाने, प्रायःमा यी लक्षण हुँदैनन् । त्यसकारण लक्षण नभईकन त कसैले ब्लड टेस्ट गर्दैन । तर पनि कुनै समस्या नभईकन पनि ब्लड टेस्ट गर्दा हामीले धेरैमा डाइबिटिज देखेका छौँ ।
मधुमेह र थाइराइडको सम्बन्ध कस्तो हो ?
मधुमेह र थाइराइड भनेको एन्डोक्राइन प्राक्टिस अर्थात् हर्मोनसम्बन्धी विशेषज्ञ भएको हुनाले यी दुईवटा रोगहरू सबैभन्दा कमन हर्मोनल कन्डिसन हो । त्यहाँबाट सुरु गरौँ । डाइबिटिज नभएको व्यक्ति र डाइबिटिज भएको व्यक्तिलाई तुलना गरेर हेर्दा थाइराइडको समस्या डाइबिटिज भएका व्यक्तिहरूमा बढी मात्रामा भेट्टाइन्छ । विशेष गरेर टाइप वान डाइबिटिज अर्थात् प्रकार १ डाइबिटिज भन्छौँ, जुन बच्चादेखि नै अर्थात् सुरुदेखि नै इन्सुलिनको अभाव भएको रोग हो । यो रोगमा थाइराइडको समस्या अझै बढी लगभग ३० प्रतिशतमा नै भेट्टाउँछौँ ।
मधुमेह कसलाई हुनसक्छ ?
मधुमेह त जसलाई पनि हुन सक्ने रोग हो । तर, मधुमेह हुनुमा धेरै कुराको रिस्क फ्याक्टर हुन्छ । जस्तो, मैले मोटोपनको कुरा गरेँ । सेटेन्टरी लाइफस्टाइल अर्थात् अलिक एक्टिभ नहुने, एउटै ठाउँमा लामो समय बस्ने, फिजिकल एक्टिभिटी नभएको, शारीरिक व्यायाम नहुने, अथवा वंशाणुगत छ भने ती रिस्क फ्क्टरहरूले भविष्यमा डाइबिटिज हुने रिस्क बढाउँछ । तर, हामीले भन्छौँ नि– मोटो मान्छेमा नै डाइबिटिज देखिने हो । त्यस्तो होइन ।
हामीले नेपालको जनसंख्यामा हेर्दा वा भारतमा पनि के भेटिरहेका छौँ भने, डाइबिटिजको समस्या पश्चिमा अर्थात् युरोप, अमेरिकाको तुलनामा अलिक छिटो अथवा १० वर्षअघि नै देखिने गरेको छ । मोटोपन नभएको मान्छे जस्तै, शारीरिक रूपमा मान्छे दुब्लो छ, तर सेन्ट्रल ओबिसिटी अर्थात् पेटमा बोसोको मात्रा बढी हुने त्यस्तो व्यक्तिहरूमा पनि हामीले डाइबिटिज भेट्टाइरहेका छौँ । भनेपछि मोटोपना नै हुनुपर्छ भन्ने छैन ।
परीक्षण कसले गर्ने, कसरी गर्ने ?
मधुमेह हामी सामान्यतया ब्लड टेस्टबाट हेर्छौं । परीक्षणका क्रममा हामीले कि खाली पेटमा सुगर हेर्छौं कि त खाना खाएको दुई घण्टापछि हेर्छौं । अर्को, तीन महिनाको सुगर हेर्ने जाँच हुन्छ, जसलाई हामी एचपीए बायोप्सी भन्छौँ । यी तीनवटा जाँचमा जुनै जाँच गर्दा पनि डाइबिटिज छ कि छैन भनेर हामीलाई थाहा हुन्छ ।
अहिलेको गाइडलाइन अर्थात् अमेरिकन डाइबिटिज एसोसिएसनले के भन्छ भने, तीव्र गतिमा बढेको रोग भएको हुनाले ३० वर्ष नाघेको, जसमा कुनै पनि रिस्क फ्याक्टर छैन भने पनि सबैले ब्लड टेस्टमा सुगरको जाँच गर्नुपर्छ । र, नर्मल आयो भने हरेक तीन/तीन वर्षमा गर्दा राम्रो हुन्छ ।
योबाहेक तपाईंमा डाइबिटिज हुने रिस्क फ्याक्टर छ, जुन अघि मैले कुरा गरिसकेँ । तपाईंको परिवारमा छ, मोटोपना छ, लाइफस्टाइल त्यति एक्टिभ छैन भने उहाँहरूले पनि गर्नुपर्छ । त्योसँगसँगै जसमा कहिलेकाहीँ हर्मोनहरू गडबड हुने कन्डिसन छ, जस्तो, महिलाहरूमा महिनावारी गडबड हुने, टाइममा नहुने । यस्तो कन्डिसनमा जसलाई हामीले ‘पुलिसेस्टिक ओन्ड्रिक सिस्टम’ भन्छौँ, अथवा पहिले गर्भवती भएको बेलामा सुगर देखिएको छ, जसलाई हामी ‘जेस्टिसन डाइबिटिज’ भन्छौँ, यस्तो समस्या देखिएको छ भने पनि यस्ता व्यक्तिहरूले एक/एक वर्षको फरकमा आफ्नो ब्लडसुगर चेक गर्नुपर्ने हुन्छ ।
थाइराइड पनि डाइबिटिजको जस्तै ब्लड टेस्टबाट थाहा हुन्छ, लक्षणहरूबाट थाहा हुँदैन । थाइराइडको टेस्टलाई हामी ‘थाइरोइड फङ्सन टेस्ट’ भन्छौँ, जुन सिम्पल ब्लड टेस्ट हो । यो जता पनि हुने जाँच हो । त्यसकारण टीएफटी अर्थात् ‘थाइरोइड फङ्सन टेस्ट’बाट हामीलाई थाहा हुन्छ ।

थाइराइड कसले टेस्ट गराउने ?
अघि कुरा गरेजस्तै जस्तो, टाइप वान डाइबिटिज छ भने यस्तो व्यक्तिहरूले टेस्ट गर्नुपर्यो । महिलाहरूमा प्रेगनेन्सीअगाडि चेक गर्नुपर्यो । जुन महिलाहरूको बाँझोपनको समस्या छ, महिनावारी गठबडीको समस्या छ, यस्तो महिलाहरूले चेक गर्नुपर्यो । र, फेमलीमा कसैलाई थाइराइडको समस्या छ भने उहाँहरूले चेक गर्नुपर्यो । सँगसँगै लक्षणहरू छ भने पनि उहाँहरूले पनि चेक गर्नुपर्यो ।
मधुमेहका प्रकार ?
मधुमेहका पनि धेरै प्रकार हुन्छ । त्यसमध्ये प्रकार १ र २ का बारेमा कुराकानी गर्छु । हामीले ९० प्रतिशतभन्दा धेरै जुन प्राक्टिसमा भेट्टाउँछौँ, त्यो प्रकार २ मधुमेह हो ।
प्रकार २ अथवा टाइप टु डाइबिटिज उमेर बढ्दै गएपछि यो प्रकारको मधुमेह लाग्ने सम्भावना बढी हुन्छ । ४० वर्ष नाघेपछि टाइप २ डाइबिटिजको रिस्क बढ्दै जान्छ । तर, प्रकार २ मधुमेह बच्चादेखि वृद्धसम्म जसलाई पनि लाग्न सक्ने रोग हो ।
दोस्रो भनेको टाइप १ डाइबिटिज । प्रकार १ मधुमेह प्रायजसो बच्चाहरूमा देखिने रोग हो । तर, यो पनि उमेर कटिसकेकाहरूमा पनि देखिन सक्छ । तर, बच्चाहरूमा नै बढी देखिन्छ ।
युवा अवस्थामा किन बढ्दै छ डाइबिटिज ?
‘युथ अनसेट डाइबिटिज’ अथवा अलि कम उमेरमै ४०/३५ वर्षभन्दा कम उमेरमै देखिने डाइबिटिज पनि विगत केही वर्षहरूमा बढेको देखिएको छ । पहिले हामीले के सोच्थ्यौँ भने, डाइबिटिज उमेर बढेपछि हुने रोग हो । यो एकदम गलत हो ।
अहिले जसरी जीवनशैली परिवर्तन भएको छ, खानपान पहिलेजस्तो छैन, जुन प्रकारको स्टे«स छ, यी कारणहरूले गर्दा कम उमेरमा अथवा ३५ वर्ष नपुग्दै वा ३० वर्षमुनिकालाई पनि डाइबिटिज देखिराखेको छ ।
५० वर्षअगाडिसम्म पनि हामीले यस्तो देखेका थिएनौँ । तर, १५/२० वर्षयता किशोरावस्थामा वा युवा अवस्थामा देखिने डाइबिटिज हामीले लगभग दोब्बर पाएका छौँ । अहिले जुन प्रकारको जीवनशैली छ, खानेकुराको स्वरूप छ, बाहिर बढी खाने, फिजिकल एक्सरसाइज नगर्ने, ओबिसिटी अर्थात् मोटोपनाले यो समस्या बढाएको छ ।
के खाने, के नखाने ?
मधुमेह भएको व्यक्तिहरूले अलिक कम कार्बोहाइड्रेट भएको खानेकुरा खाने भनेर सल्लाह दिन्छौँ । चिनी, आलु – यो प्रकारको खानेकुरा खाँदा सुगर एकैचोटि ह्वात्तै बढ्छ । त्यसकारण चिनी, आलु, मैदाले बनेका परिकारहरू नखाने सल्लाह दिन्छौँ । त्योबाहेक भिनी मिसिएका चिजहरू, मिठाईहरू, जुस, कोक, फेन्टा, आइसक्रिमहरू भयो, जसमा चिनीको मात्रा धेरै हुन्छ – यस्तो प्रकारको खानेकुरा पनि नखाने सल्लाह दिन्छौँ ।
ग्रामीण क्षेत्रमा डाइबिटिज कम देखिन्छ ?
प्रायजसो ग्रामीण क्षेत्रमा बस्ने मानिसहरूमा डाइबिटिज कम नै देखिन्छ । किनभने, उहाँहरूको जीवनशैली अलिक एक्टिभ हुन्छ । जस्तो, खेतीमा जाने, काम गर्ने, श्रम बढी हुन्छ । खानेकुरा पनि प्रायः घरकै खानुहुन्छ । मिलाएर खानुहुन्छ । उहाँहरूको डाइट पनि अलिक हेल्थी हुन्छ । तर, के पनि देखिएको छ भने ग्रामीण क्षेत्र पनि सहरीकरण हुँदै जाँदा परिश्रम कम, खानेकुरा पनि नमिलाएर खाने गरेको देखिएकोले त्यहाँ पनि डाइबिटिज देखि नै रहेका छौँ । तर, सहरमा बस्ने मानिसहरूमा डाइबिटिजको मात्रा अलिक बढी नै देखिन्छ ।
इन्सुलिन वा औषधि खानेले ध्यान दिनुपर्ने कुरा के हो ?
मधुमेह भएको व्यक्ति जसले इन्सुलिन (सुगरलाई घटाउने सुई) प्रयोग गरिरहनुभएको छ वा औषधि खाइरहनुभएको छ, उहाँहरूले चाडपर्वको बेला आफ्नो औषधि नियमित लिने, खानेकुरामा ध्यान दिनुपर्छ । किनभने, चाडपर्वमा अलिकति गुलियो खानेकुरा बढी खाने, चिल्लो बढी खाने हुन्छ । त्यसकारण यस्ता कुरामा ध्यान दिएर चिल्लो, गुलियो बारेर सामान्य, जुन सादा खानेकुराहरू छ, त्यो मिलाएर खानुपर्ने हुन्छ ।
लामो यात्रामा जाँदै हुनुहुन्छ भने पनि आफ्नो खानेकुरा बोकेर हिँड्ने, आफ्नो इन्सुलिनहरू आइसमा प्याक गरेर बोक्ने, औषधिहरू बोकेर हिँड्ने । यात्रा गर्दा यदि तपाईं आफूले ड्राइभ गरिरहनुभएको छ, गाडी कुदाइरहनुभएको छ भने एउटा सुगर नाप्ने मेसिन बोकेर हिँड्ने । लामो समय हिँड्दा सुगर लो हुनसक्छ । खानेकुरा समयमा खाने, बीचबीचमा मसिनले सुगर चेक गर्ने र आफूसँग केही गुलियो खानेकुरा – जस्तो, चकलेटहरू पकेटमा राख्ने । यदि, सुगर लो भयो भने त्यो खानुभए हुन्छ ।
जीवनशैली कस्तो बनाउने ?
दिनको सुरुआत सकारात्मक सोचबाट गर्नुपर्यो । निद्रा राम्रो हुनुपर्यो । बिहान उठेर आफ्नो दिनको सुरुआत कुनै पनि प्रकारको फिजिकल एक्सरसाइजबाट गर्ने । र, खानेकुरा यस्तो मिलाउनुस् । किनभने, अहिले व्यस्त जीवनशैली छ । हामी सबैजना व्यस्त हुन्छौँ, काम कहिले पुग्ने भनेर रेस हुन्छ । बिहानको खाना सकभर घरबाटै खाएर जानुहोस् । सक्नुहुन्छ भने आफ्नो खानेकुरा प्याक गरेर लैजानुहोस् । सक्नु हुन्न भने खानेकुरा के खानुहुन्छ, त्यसमा विशेष ध्यान दिनुहोस् ।
प्रायः हाम्रो खाजा भनेको मैदाले बनेको परिकार हुन्छ । जस्तै, समोसा, मःम, चाउमिन, यस्तो खानेकुरा सकेसम्म नखानुहोस् । यसको सट्टा बरु चिउरा, तरकारी, रोटी, उसिनेको अन्डा यस्तो मिलाएर खानुहोस् । मिल्छ भने घरबाट सलादहरू पनि बोकेर लैजानुस् । कामको स्टे«स अलि कम गर्नुहोस्, कामको धेरै स्ट्रेस नलिनुहोस् । खानेकुराको टाइमटेबल मिलाएर र औषधि नछुटाईकन लिनुपर्ने हुन्छ ।
औषधि छोड्दा के हुन्छ ?
तपाईंलाई मधुमेह भइसकेको छ र औषधि खाने गर्नुभएको छ भने आफैँ औषधि नछोड्नुहोस् । किनभने, यो दीर्घरोग हो । औषधि नछाड्ने, आफ्नो जीवनशैली मिलाउने । डाइबिटिजको उपचार भनेको औषधि मात्र होइन, यसको सबैभन्दा फाइदा गर्ने उपचार भनेको आफ्नो जीवनशैली हो । त्यो भनेको खानपान मिलाउनुपर्यो । तौल यदि बढी छ भने तौल घटाउनुपर्यो । धूम्रपान, मद्यपान गर्नुहुन्छ भने यो दुवै कुरालाई छोड्नुहोस् । मधुमेह भएको व्यक्तिमा उपचार गर्ने भनेको जटिलताहरूबाट बचाउनका लागि हो । जटिलताहरूबाट बचाउनका लागि जीवनशैली पनि सुधार्नुपर्ने हुन्छ । र, चौथो भनेको तपाईंलाई बोलाएको टाइममा परीक्षण गर्नुहोस् । वर्षको एकपटक आफ्नो आँखा, किड्नीलगायत अरू जाँच गर्नुपर्ने परीक्षणहरू गर्नुहोला । र, सकारात्मक सोच राख्नुहोस् ।
के कुरामा ध्यान दिनुपर्छ ?
हामीले के कुरा याद गर्नुपर्छ या ध्यान दिनुपर्छ भने, मधुमेह भएको व्यक्ति प्रायःलाई थाहा हुँदैन कि मलाई मधुमेह छ भनेर । मलाई मधुमेहको लक्षण छैन, त्यही भएर म किन टेस्ट गर्ने भनेर सोच्नुहुन्छ । तर, ५० प्रतिशत व्यक्तिहरूमा मधुमेह भइसकेपछि पनि कुनै पनि लक्षणहरू हुँदैन । त्यसकारण तपाईं ३० वर्ष कट्नुभएको छ भने कृपया वर्षको एकचोटि आफ्नो स्वास्थ्य जाँचमा एउटा सुगरको जाँच पनि राख्नुहोस् । किनभने, यो एउटा सिम्पल टेस्ट हो । तपाईं बिहानको समयमा खाली पेटमा गएर ब्लड दिनुभए हुन्छ, दिनभरि कुर्नु पर्दैन । तपाईंमा लक्षण छैन भने पनि वर्षको एकपटक सुगर टेस्ट गर्नुहोस् ।