पोखरा । साउन ६ गते । साँझको खाना खाएपछि जंगे सार्कीले एक गिलास मदिरा सेवन गरे । सोही क्रममा श्रीमती छुनु भनिने जमुना नेपाली सार्कीसँग उनको जग्गाको विषयमा वादविवाद हुन पुग्यो । कुरा नमिलेपछि स्थिति हात हाल्नेसम्म पुग्यो ।
मदिरा सेवन गरेका जंगेले आवेशमा आई दुई मुक्का प्रहार गरे । उनको प्रहारले जमुना भित्तामा ठोक्किन पुगिन् ।
घाइते श्रीमतीको वास्तै नगरी जंगे घरबाहिर रहेको टिनको टहरामा सुत्न गए । पोखरा–२७, रिठ्ठेपानी शान्ति खहरे टोल बस्ने उनले भोलिपल्ट बिहान श्रीमतीको बेवास्ता गरी छिमेकीको घरमा चिया खान गए । त्यसपछि उनी ठेकेदार भेट्ने भन्दै शिसुवातर्फ लागे । ठेकेदार भेट्न नसकेपछि उनी साँझ घर फर्किए । आफैँ खाना बनाएर खाए ।
८ गते बिहान पनि उनको दैनिकी सोही नै रह्यो । त्यो दिन बिहान उनले छिमेकी मामा पर्नेको घरमा गई चिया पिएर फेरि शिसुवातर्फ लागे ।
यहाँसम्म पनि उनले श्रीमतीको बेवास्ता नै गरेका थिए । तर, ६ गते साँझ नै जमुनाको भित्तामा ठोकिँदा मृत्यु भइसकेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पत्रकार सम्मेलन गर्दै जमुनाको टाउकोमा चोट लागेका कारण निधन भएको जनाएको छ ।
यो भनेको टाउकोमा कुनै धार नभएको कडा वस्तुबाट लागेको चोट हो । यो चोटमा टाउकोभित्र रगत जम्ने, मष्तिष्कमा रगत जम्ने, चेत हराउने, टाउकोको हड्डी फुट्ने, मष्तिष्कमा क्षति पुग्नेदेखि मृत्यु हुनेसम्म हुन्छ ।
जंगेले श्रीमतीको हत्या गरेको विषय चाहिँ दुई दिनपछि ८ गते खुलेको हो । जमुनाको शव गल्न थालिसकेको थियो । त्यसको दुर्गन्ध फैलिन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले सोही दिन जंगेलाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।
ओलियाका अनुसार, प्रहरी पुग्दा जमुनाको शव सडेगलेको अवस्थामा फेला परेको थियो । शवको पोष्टमार्टम गर्दा टाउकोमा लागेको गहिरो चोटका कारण मृत्यु भएको पुष्टि भएको ओलियाले बताए । साढे तीन दशकअघि सार्कीको पहिलो श्रीमतीले एक वर्षको छोरा छाडेर अन्यत्रै बिहे गरेपछि जंगेको जमुनासँग दोस्रो विवाह भएको थियो । जमुनाले नै जंगेको पहिलो श्रीमतीतर्फको छोरालाई हुर्काएकी थिइन् । छोरा अहिले विवाह गरी आफ्नो परिवारसहित पुरानो घर रिभानमा बस्दै आएका छन् । प्रहरीका अनुसार, जंगेले मिस्त्री काम गर्थे भने जमुना घरधन्दा सम्हाल्थिन् ।
एसपी ओलियाका अनुसार, पक्राउ परेका जंगेविरुद्ध कर्तव्य ज्यान मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।