site stats
बाह्रखरी :: Baahrakhari
देश
विद्युत् प्राधिकरणका ज्यालादारी कर्मचारीको कोसी प्रदेश कार्यालयमा धर्ना

विराटनगर । नेपाल विद्युत् प्राधिकरणका ज्यालादारी कर्मचारीहरूले सोमबार कोसी प्रदेश कार्यालयमा धर्ना दिएका छन् । प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिको आयोजनामा धर्ना गरिएको हो ।

समितिका अध्यक्ष विनोद गनगाईंले मासिक ज्यालादारीका कर्मचारीको पक्षमा दुईदिने धर्ना सुरु गरिएको जानकारी दिए ।

प्राधिकरण सञ्चालक समितिको ०७८ साल साउन ३१ गते बसेको ९४९औँ बैठकले देशभर रहेका ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्त गर्ने निर्णय गरेको थियो । तर, दुई वर्ष बितिसक्दा पनि त्यो निर्णय कार्यान्वयन नभएपछि दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम थालेको हो ।

सोमबार धर्ना कार्यक्रमलाई केन्द्रीय समितिका उपाध्यक्ष सरिता दाहाल र कोसी प्रदेश अध्यक्ष विनोद गनगाईंले नेतृत्व गरेका थिए ।

प्राधिकरणको २०७६ को तथ्यांकअनुसार देशभर दुईहजार ८१३ जना दैनिक ज्यालादारी कर्मचारी छन् । तीमध्ये केहीको मृत्यु भइसकेको, केही उमेर हदबन्दीका कारण सेवानिवृत्त भइसकेका छन् । कतिपय विदेश गएका छन् ।

सरकारले दैनिक ज्यालादारी कर्मचारीलाई हाजिरी गरेर काम गरेको दिनको आधारमा ७३५ रुपैयाँ ज्याला दिने गरेको छ । तर, संघर्ष समितिले दैनिक ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्त गरी कम्तीमा २५ हजार ७५० रुपैयाँ मासिक तलब दिनुपर्ने माग राखेको छ । यो तलब प्राधिकरणका अन्य कर्मचारीहरूले पाउने सुविधाको तुलनामा निकै कम भएको समितिले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १४:३१
प्रतिक्रिया दिनुहोस्