site stats
बाह्रखरी :: Baahrakhari
खेल
सन्दीप लामिछाने किन नेपाली टिमको बन्द प्रशिक्षणमा छैनन् ?
फाइल तस्बिर ।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम हाल एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटका निम्ति बन्द प्रशिक्षणमा छ । नेपाली टिमका मुख्य प्रशिक्षक स्टुवर्ड लले छनोटका निम्ति असार २९ गते ३२ जनालाई बन्द प्रशिक्षणमा डाकेका थिए । जसमध्येका ११ जना हाल नेपालमै प्रशिक्षण गरिरहेका छन् । 

यस्तै, बाँकी २० जना भने साउन २ गते प्रशिक्षणका निम्ति भारतको बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमी प्रस्थान गरेको थियो । तर, नेपाली टिमका नियमित लेग स्पिनर सन्दीप लामिछाने न भारत गए न हाल नेपालमै प्रशिक्षण गरिरहेका छन् । उनी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहे पनि हाल प्रशिक्षणमा सहभागी भएका छैनन् । 

किन छैनन् सन्दीप प्रशिक्षणमा ? 
त्यसो त सन्दीप क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा पनि छैनन् । उनले गएको वैशाख ३१ गते क्यानको केन्द्रीय सम्झौतामा आफू नरहने जनाएका थिए । हाल उनी प्रशिक्षणमा पनि सहभागी नहुँदा स्वाभाविक प्रश्न उठेको छ, नेपाल क्रिकेट संघ (क्यान) सँग सन्दीप असन्तुष्ट बनेका हुन् ? 

तर, यता क्यानका प्रवक्ता छुम्बी लामा भने सन्दीपले प्रशिक्षकसँग समन्वय गरेर नै केही दिन आराम लिएको बताउँछन् । उनले सन्दीप र क्यानबीच कुनै पनि किसिमको असहज वातावरण नभएको पनि प्रष्ट पारे । 

“बाहिर आएको हल्लाजस्तो सन्दीप बन्द प्रशिक्षणमा सहभागी नभएका हैनन् । उनी बन्द प्रशिक्षणको सुरुआती दिनमा भएको फिटनेस टेस्टमा सहभागी भएका थिए । उनी फिटनेस टेस्टमा पास पनि भए,” प्रवक्ता लामाले बाह्रखरीसँग भने, “त्यसपछि नेपाली टिमका मुख्य प्रशिक्षकसँग कुराकानीपछि मात्रै सन्दीपले केही दिन आराम लिएका हुन् । बन्द प्रशिक्षणमा रहेका ३२ मध्ये २० खेलाडी हाल भारतमा छन् । उनीहरू नेपाल फर्किएपछि सन्दीप पनि टिमको प्रशिक्षणमा फर्किने छन् ।” 

विश्वकपको एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटमा नेपालसँगै, पपुवा न्युगिनी (पीएनजी) र ओमानसँगै कुवेत, मलेसिया युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, जापान र समाओ सहभागी हुनेछन् । 

तालिकाअनुसार अक्टोबर ८ देखि ओमानमा हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । यो समूहमा नेपालसँगै कुवेत र जापान छन् । प्रत्येक समूहमा तीन टिम रहने गरी सहभागी नौ टिमलाई आईसीसीले तीन समूहमा विभाजन गरेको छ । जसअनुसार समूह ‘ए’ मा यूएई, मलेसिया र कतार छन् । समूह ‘सी’ मा ओमान, पीएनजी र समाओ छन् । 

नेपालले प्रतियोगिताको पहिलो खेलमा अक्टोबर ८ मै कुवेतसँग खेल्नेछ । यसपछि नेपालले अक्टोबर १० मा जापानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगिताको प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर–६ मा प्रवेश गर्नेछन् । जहाँबाट शीर्ष तीन टिमले सन् २०२६ मा आयोजना हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १६:१५
प्रतिक्रिया दिनुहोस्