काठमाडौं । १० खेलाडीमा सीमित मनाङ मर्स्याङ्दी क्लबले एन्फा यू–१६ युथ लिगमा जावलाखेल युथ क्लबलाई ३–१ ले पराजित गरेको छ ।
सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दोस्रो खेलमा मनाङलाई पराजित गर्न टोलीका इश्वर दमाई परियार, शिओम श्रेष्ठ र सकिन कुमारले समान एक गोल गरे । जवाफमा जावलाखेलका पुजन सुनारले एक गोल फर्काए ।
खेलको २८औँ मिनेटमा इश्वरले मनाङलाई अग्रता दिलाए । ३८औँ मिनेटमा शिओमले अग्रतालाई दोब्बर बनाए । ५८औँ मिनेटमा जावलाखेलका पुजनले गोल गर्दै टोलीलाई १–२ को अवस्थामा ल्याए ।
७८औँ मिनेटमा मनाङका सकिनले गोल गर्दै टोलीलाई ३–१ को अग्रतामा राखे । अन्ततः मनाङले यही अग्रतालाई अन्तिम समयसम्म रक्षा गर्दै जित निकालेको हो । ८९औँ मिनेटमा मनाङका उनै इश्वरले रातो कार्ड दर्शन गरेपछि टोली दश खेलाडीमा सीमित भएको थियो ।
जितसँगै मनाङले नौ खेल खेल्दा लिगमा २० अंक जोडेको छ । मनाङले नौ खेलमा ६ जित, दुई बराबरी र एक हारको नतिजा आत्मसाथ गरेको हो । अब, उसले १०औँ खेलमा न्युरोड टिम (एनआरटी)को सामना गर्नेछ । खेल आगामी शुक्रबार (साउन १६ गते) दिउँसो ४ बजे हुने तालिका छ ।
जावलाखेलले भने १० अंक जोडेको छ । उसले अब १०औँ खेलमा सातदोबाटो युथ क्लबसँग खेल्नेछ । खेल आगामी आइतबार (साउन १८ गते) आइतबार दिउँसो १ बजे हुनेछ ।