काठमाडौं । हायू समाज नेपालले सिन्धुलीको एक हायू परिवार 'सम्पर्कविहीन' भएको विषयमा आएका टीकाटिप्पणीप्रति आपत्ति जनाएको छ । आज एक विज्ञप्तिमार्फत समाजले यस घटनालाई लिएर केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आधारहीन विषयवस्तु राखिएको भन्दै आपत्ति जनाएको हो ।
"परिवारको अस्थायी बसाइ र श्रमसँग सम्बन्धित उनीहरूको स्वेच्छिक निर्णयलाई सामाजिक सुरक्षा भत्तासँग जोडेर गरिएको आग्रह पूर्वाग्रपूर्ण गलत टिप्पणीप्रति हामी गहिरो खेद प्रकट गर्दछौँ । घोर आपत्ति जनाउँदछौँ," समाजका अध्यक्ष लक्ष्मण हायूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हायू समुदाय श्रम, इमानदारिता र आत्मसम्मानमा जीवनयापन गर्दै आएको आदिवासी समुदाय रहेको पनि समाजले जनाएको छ । "आधारहीन र हचुवा प्रचारप्रसारले केवल यो परिवारजनलाई हैरानीमात्र होइन, समग्र समुदायको भावना र सम्मानमाथि प्रहार भएको अनुभूति हामीले गरेका छौँ," विज्ञप्तिमा उल्लेख छ ।
समाजले उर्मिलाको परिवारको पुनर्स्थापना र व्यवस्थापनका लागि स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारसँग आग्रह गरेको छ ।