काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालअन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीको टोलीले करिब १० लाख रुपैयाँबराबरको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक जनकराज उपाध्यायको कमाण्डमा खटिएको प्रहरीको मोबाइल गस्ती टोलीले भीमदत्त नगरपालिका–४, भासी हाइवे र वडा नं. १० भन्सार रोड क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएका सामानहरू बेवारिसे अवस्थामा फेला पारेको हो ।
बरामद गरिएका सामग्रीहरूमा लेडिज सुट/कुर्ती, किराना सामग्री र इलेक्ट्रोनिक सामानहरू रहेका छन् । उक्त सामग्रीको भन्सार मूल्य करिब १० लाख रुपैयाँ रहेको अनुमान गरिएको छ ।
बरामद भएका सबै सामानहरू आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र गस्ती कार्य थप कडा बनाएको जनाएको छ ।