काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै साविक विजेता चर्च ब्वाइज युनाइटेड एन्फा यू–१६ युथ लिगको छैटौँ स्थानमा उक्लिएको छ ।
साविक विजेता चर्च ब्वाइजले छैटौँ स्थानमा उक्लन शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा आर्मीलाई ३–१ ले पराजित गरेको हो । चर्च ब्वाइजको जितमा आर्यन नेगीले दुई गोल गर्दा सुशन थापामगरले एक गोल गरे । आर्मीका सोहित वाइबाले गोल गरे पनि टोलीको हार टार्न सकेनन् ।
खेलको ३४औँ मिनेटमा आर्यनले चर्च ब्वाइजलाई अग्रता दिलाए । ४५औँ मिनेटमा उनै आर्यनले अग्रतालाई दोब्बर बनाए । ५८औँ मिनेटमा आर्मीका सोहितले गोल गर्दै टोलीलाई १–२ को अवस्थामा ल्याए ।
खेलको इन्जुरी समयमा चर्च ब्वाइजका सुशनले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । यो जितसँगै छैटौँ स्थानमा उक्लिएको चर्च ब्वाइजले लिगमा १७ अंक जाडेको छ । चर्च ब्वाइजले दश खेल खेल्दा पाँच जित, दुई बराबरी र तीन हारबाट १७ अंक बनाएको हो । अब ११औँ खेलमा उसले हिमालयन शेर्पा क्लबको सामना गर्नेछ । खेल साउन २० गते बिहान १० बजे हुने तालिका छ । पराजित आर्मी भने ६ अंकमा सीमित छ । अब ११औँ खेलमा उसले विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ ।