शिवप्रसाद काफ्ले
परबाट एक हुल मान्छे गाउँ छिरे
हातमा क्यामेरा र माइक बोकेर
गाउँ सानो थियो
सबैजना एकापसमा
मिलेर बसेका थिए
कुनै कंक्रिटका महल थिएनन्
खरकै छानो भए पनि
स्वर्गभन्दा प्यारो थियो
गाउँलेका लागि घर
एकार्काको लागि सहारा
बनेर बसेको थियो गाउँ
जाति, धर्म केहीको मतलब थिएन
थियो त केवल
मानवताको जात
मानवताको धर्म
कोही धनी थिएन
न त कोहीले
गरिब भएको महसुस गर्नुपर्थ्यो
न त बिरामी भएर
थलिएर बस्नुपर्थ्यो
न त खानाको अभावमा भोकै बस्नुपर्थ्यो
मिलेको समाज
कुनै दिन कलह नहुने
आहा !
तर,
भाइरलका भोकाहरू
भ्युजका प्यासीहरूको
क्यामेरामा अलगअलग
कैद भए मान्छेहरू
एकार्कामा द्वन्द्व सिर्जना भयो
समाज भाँडिदै गयो
आँखा तर्न थाले
एकापसमा छिमेकीहरू
बोलचाल बन्द भयो
उता क्यामेरा तेर्साउनेहरू
खुसीले गदगद हुन थाले
कन्टेन्ट ट्रेन्डिङमा पर्यो
डलर मस्त झर्न थाल्यो
यही देखेर
अरू भोकाहरूको
गाउँ छिर्ने क्रम बढ्न थाल्यो
झन् धेरै कैद हुन थाल्यो
त्यो गाउँ
त्यो समाज
त्यहाँका मानिस
मालामाल हुन थाले
ती भाइरसहरू
जो एकथान क्यामेरा
एकथान माइक बोकेर
समाज भाँड्न लाग्नेहरू
ओझेलमा परे
गाउँसमाज बनाउँछु भनेर
क्यामेरा बोक्नेहरू
र,
तहसनहस हुन थाले
गाउँघर, समाज अनि मानिसहरू !