site stats
बाह्रखरी :: Baahrakhari
देश
१२५ खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला

ढोरपाटन । बागलुङमा बर्सेनि खानेपानीको मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका दशवटै पालिकाका ३४१ मुहानको पानी परीक्षण गर्दा १२५ मुहानमा कोलिफर्म फेला परेको हो ।

जिल्लामा सबैभन्दा बढी जैमिनी नगरपालिकाको मुहानमा कोलिफर्म फेला परेको छ । यस पालिकामा १०६ मुहानमा परीक्षण गर्दा ४२ मुहानमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन डिल्ली आचार्यले जानकारी दिए । 

उनका अनुसार गलकोट नगरपालिकामा ९१ स्थानमा परीक्षण गरिकोमा ४० मुहानमा कोलिफर्म फेला परेको छ ।

बागलुङ नगरपालिकामा २४ वटा मुहान परीक्षण गर्दा चार, काठेखोला गाउँपालिकामा ४७ वटा मुहान परीक्षण गर्दा २७, बडिगाड गाउँपालिकामा ६८ स्थानमा परीक्षण गर्दा १० वटा मुहानमा कोलिफर्म फेला परेको आचार्यले जानकारी दिए । 

ढोरपाटन नगरपालिकामा पाँचवटा परीक्षण गर्दा कुनै पनि मुहानमा कोलिफर्म नदेखिएको उनको भनाइ । निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकामा भने मुहान परीक्षण नगरिएको आचार्य बताउँछन् । 

“अघिल्लो वर्ष परीक्षण गर्दा १०३ वटा मुहानमा कोलिफर्म देखिएको थियो, यस वर्ष बढेर १२५ पुग्यो,” आचार्यले भने, “धेरै ठाउँबाट परीक्षण गर्नका लागि आग्रह गरेका गर्नुभएको छ ।” 

धौलागिरि प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किरण तिवारीले कोलिफर्म मिसिएको पानी पिउँदा झापखाला, हैजा, टाइफाइड, जण्डिस, हेपटाइटिस बी, पिसाब र  रगतमा संक्रमणसँगै कडाखालको रोग लाग्नसक्ने उनको भनाइ छ । 

कोलिफर्म फेला परेको मुहानबाट आएको पानी उमालेर मात्रै प्रयोग गर्नुपर्ने डाक्टर तिवारीले सुझाव दिएका छन् । रासस

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १०:४२
प्रतिक्रिया दिनुहोस्