काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई हेटौँडामा सम्मान गरिएको छ । सञ्चारिका समूह मकवानपुरले शनिबार (साउन १७) आयोजना गरेको ‘देश चिनाउने सम्बासँग हाम्रो चिनजान’ कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।
कार्यक्रममा हेटौँडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक एवं शिक्षाविद् पुरनबहादुर जोशीले भण्डारीलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे । सम्मानपछि भण्डारीले आफूले धेरै मिहिनेत र संघर्षका बाबजुत सफलता हासिल गरेको बताइन् ।
मोजाको भकुन्डोबाट आफ्नो फुटबल करियर सुरु भएको उनले स्मरण गरिन् । अभावै अभावमा हुर्किएर यो स्थानमा आएको उनले बताइन् । मोजाको भकुन्डोले फुटबलमा अगाडि बढ्न प्रेरणा दिएको उनको भनाइ थियो ।
कप्तान भण्डारीले पछिल्लो समय खेलकुदलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको उल्लेख गरिन् । नयाँ पुस्तालाई खेल्नका निम्ति सामग्रीको अभाव नरहेको र स्थानीय सरकारले पनि खेलप्रति सकारात्मक धारणा राखेको उनले बताइन् ।
फुटबलका माध्यमबाट समाजमा केही परिवर्तन गर्नुपर्छ भन्ने मान्यतामा आफ्नो टिम रहेको उनले सुनाइन् । सबै नेपाली महिलाको प्रतिनिधित्व गर्दै देशको नाम चिनाउनका निम्ति आफू सदैव अग्रसर रहने उनले प्रतिबद्धता जनाइन् ।
कप्तान भण्डारीले खेलसँगै शिक्षाको पनि उत्तिकै महत्त्व रहेको धारणा राखिन् । न्युज एजेन्सी नेपाल