site stats
बाह्रखरी :: Baahrakhari
देश
अझै दुई दिन पानी पर्ने : काठमाडौंमा ‘मध्यम’, यी प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । देशका धेरै स्थानमा शुक्रबार (साउन १६) बेलुकायता पानी परिरहेको छ । शनिबार (साउन १७) केही स्थानमा ‘भारी’ वर्षा समेत भएको छ । अझै दुई यस्तै स्थिति रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“आज र भोलिसम्म मौसम यस्तै हुने देखिन्छ,” महाशाखाका मौसमविद् शान्ति कँडेलले बाह्रखरीसित भनिन् ।

आइतबार (साउन १८) कोसी र मधेस प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । वाग्मती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् ।

‘हल्का’देखि ‘मध्यम’ वर्षाको सम्भावना भने आइतबार र सोमबार (साउन १९) देशैभरि रहेको उनले बताइन् । “पर्सि (मंगलबार) वर्षाको सम्भावना केही कम देखिन्छ,” उनले भनिन् ।

आइतबार काठमाडौंमा पनि वर्षाको सम्भावना छ । काठमाडौंमा मध्यमसम्म वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् । 

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अर्थात् नेपालनजिक रहेको मौसमविद् कँडेलले जानकारी दिइन् ।

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

यस्तै, ‘केही’ स्थान भन्नाले ३० देखि ५० प्रतिशत क्षेत्रफल हुने महाशाखाले जनाएको छ । महाशाखाले १० प्रतिशतभन्दा कम क्षेत्रफलाई ‘एक–दुई’ स्थान भन्छ । ‘थोरै’ स्थान भन्नाले १० देखि ३० प्रतिशत क्षेत्रफल हो । ५० देखि ८० प्रतिशत क्षेत्रफलाई ‘धेरै’ स्थान भनिन्छ । ८० प्रतिशतभन्दा बढी क्षेत्रफलाई ‘अधिकांश’ स्थान भनिने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ०६:२२
प्रतिक्रिया दिनुहोस्