काठमाडौं । आठ वर्षमा काठमाडौं–तराई/मधेस द्रुतमार्गको भौतिक प्रगति जम्माजम्मी ४२.१३ प्रतिशत पुगेको छ । सरकारले चार वर्षमा सक्ने गरी नेपाली सेनालाई सडक बनाउने जिम्मा दिएको थियो ।
नेपाली सेनाले सार्वजनिक गरेको विवरणअनुसार, ०८२ असार मसान्तसम्म द्रुतमार्गको समष्टिगत भौतिक प्रगति ४२.१३ प्रतिशत र वित्तीय प्रगति ४४ प्रतिशत (मोबिलाइजेसनसहित) छ । ०७४ वैशाख २१ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम द्रुतमार्ग सडक आयोजना चार वर्ष सक्ने गरी व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो ।
०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्रुतमार्गको शुभारम्भ गरेका थिए । त्यसयताका आठ वर्षमा द्रुतमार्गको भौतिक प्रगति ४२.१३ प्रतिशतमात्र भएको हो । उक्त राजमार्ग ७०.९७७ किलोमिटर छ ।
कुनकुन प्याकेजमा काम भइरहेको छ ?
नेपाली सेनाका अनुसार, आयोजनाको समष्टिगत कार्ययोजना अन्तर्गतका १३ वटा निर्माण प्याकेजहरूमध्ये हालसम्म प्याकेज नम्बर १, २, ३, ४, ५, ६, ७, ८–क, ८–ख, ९–क, ९–ख र १० निर्माणाधीन तथा कार्यान्वयनका चरणमा छन् ।
“प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका साथै द्रुतमार्गको सुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकाले खरिद प्रक्रिया सुरु हुन बाँकी छ,” नेपाली सेनाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
यस खण्डमा पर्ने जग्गाको मुआब्जा वितरणका लागि सम्बन्धित जग्गाधनीहरूसँग समन्वय भइरहेको भनाइ सेनाको छ । साथै, जग्गा अधिग्रहणसम्बन्धी समस्या समाधान गर्न सम्भावित विकल्पको डिजाइन कार्य पनि अघि बढाएको सेनाले जनाएको छ ।
“हालसम्म स्वीकृत डीपीआरबमोजिम खोकना–डुकुछाप इलाकामा मूल्य निर्धारण भई अधिग्रहण हुन बाँकी जग्गा १६०–०–२–१.६७ तथा मूल्य निर्धारण हुन बाँकी जग्गा १६५–६–०–३ रोपनी छ,” सेनाले भनेको छ, “द्रुतमार्गको सुरु बिन्दु यकिन तथा अन्य डिजाइन परिमार्जनबमोजिम अधिग्रहण बाँकी जग्गाको परिमाणमा परिमार्जन हुन सक्ने देखिएको छ ।”
सेनाको विवरण अनुसार, प्याकेज नम्बर ८–क (६.५ देखि ११.१ किलोमिटर)को ३.३१ प्रतिशत, प्याकेज नम्बर ८–ख (११.१ देखि १६.१ किलोमिटर)को ४ प्रतिशत, प्याकेज नम्बर ९–क (१६.१ देखि १८ किलोमिटर)को २ प्रतिशत, प्याकेज नम्बर ९–ख (१८ देखि २०.७ किलोमिटर)को २ प्रतिशत, प्याकेज नम्बर १० (२०.७ देखि २४.८ किलोमिटर)को ९.२७ प्रतिशत र प्याकेज नम्बर १ (२४.८ देखि २९.१ किलोमिटर)को ३४.६८३ प्रतिशत काम सकिएको छ ।
यस्तै, प्याकेज नम्बर २ (२९.१ देखि ३३.७ किलोमिटर) को ६०.८७ प्रतिशत, प्याकेज नम्बर ७ (३३.७ देखि ३८.१ किलोमिटर) को १६.१५ प्रतिशत, प्याकेज नम्बर ६ (३८.१ देखि ४८.२ किलोमिटर) को १९.१० प्रतिशत, प्याकेज नम्बर ३ (४८.२ देखि ५५.८ किलोमिटर) को ४१.२७ प्रतिशत, प्याकेज नम्बर ४ (५५.८ देखि ६३.६ किलोमिटर) को ३९.६५ प्रतिशत र प्याकेज नम्बर ५ (६३.६ देखि ७०.९ किलोमिटर) को ४०.८२ प्रतिशत काम सम्पन्न भएको छ ।
कति सुरुङको ‘ब्रेक थ्रू’ भयो ?
द्रुतमार्गमा सातवटा सुरुङ मार्ग पर्छन्, जसको कुल लम्बाइ १०.९७९ किलोमिटर छ । १,६९० मिटर लम्बाइको धेद्रे सुरुङको ‘ब्रेक थ्रू’ भएको छ ।
यस्तै, १,६२२ मिटर लम्बाइको लेनडाँडा सुरुङको पनि ‘ब्रेक थ्रू’ भइसकेको छ ।
सेनाबाट प्राप्त विवरणअनुसार, ३,३५५ मिटर लम्बाइको महादेवटार सुरुङको बाँया टनेल खन्ने काम ६८ प्रतिशत र दायाँ टनेल खन्ने काम ६१ प्रतिशत सकिएको छ ।
२,२५० मिटर चन्द्रामभीर सुरुङको हालसम्म १९९ मिटर खन्ने काम सकिएको छ । १,००० मिटर लम्बाइको देवीचौर सुरुङ, ३९० मिटर लम्बाइको सिसौटार सुरुङ र ५९४ मिटर लम्बाइको मौरीभीर सुरुङको पोर्टलको काम भइरहेको सेनाले जनाएको छ ।
पुल निर्माणको प्रगति के छ ?
द्रुतमार्ग आयोजनाअन्तर्गत ८९ वटा पुल छन् । ती पुलमध्ये ८५ वटा निर्माणको ठेक्का सम्झौता भई निर्माणको चरणमा छन् ।
निर्माणाधीन अधिकांश पुलहरूको फाउन्डेसनको काम पूरा गरी ‘सुपरस्ट्रक्चर’को काम भइरहेको सेनाले बताएको छ । ५१ वटा पुलको फाउन्डेसनका काम सकिएको छ ।
नेपाली सेनाका अनुसार, २६ वटा पुलको ‘सुपरस्ट्रक्चर’ तथा ६ वटा पुल बनिसकेका छन् ।
सडक निर्माण कति भयो ?
नेपाली सेनाले द्रुतमार्गमा पर्ने सुरुङ, पुल र सडक निर्माण गर्ने कार्य एकसाथ अघि बढाइरहेको छ ।
सडक निर्माणअन्तर्गत ९.३ किलोमिटर सडकको ‘सब–बेस’ तथा सर्भिस लेनमा पाँच किलोमिटर सडकको कालोपत्रे गर्ने काम सकिएको छ ।
सेनाका अनुसार, स्लोप प्रोटेक्सन, बक्स कलभर्ट, अप्टिकल फाइबर, विद्युतीकरण लगायतका संरचनाहरू निर्माण भइरहेको छ । निजगढ इलाकामा ‘एनिमल अन्डर पास’ संरचना बनिसकेको छ । द्रुतमार्गको निजगढ इलाकामा टोल प्लाजा तथा इन्टरचेन्ज बनिरहेको छ ।
जग्गा अधिग्रहणको काम कहाँ पुग्यो ?
द्रुतमार्गको २४.८ किलोमिटरदेखि ७०.९७७ किलोमिटरसम्म पर्ने जग्गाहरूको अधिग्रहण गर्ने काम सकिसकेको छ ।
द्रुतमार्गको ६.५ किलोमिटरदेखि २४.८ किलोमिटर खण्डमा सुरुङ मार्ग, स्लोप प्रोटेक्सन, रिभर ट्रेनिङ निर्माण कार्यका लागि आवश्यक पर्ने नम्बरी जग्गाहरू अधिग्रहणका निम्ति सरकारको स्वीकृति लिई मूल्य निर्धारणका क्रममा छ ।
काठमाडौं जिल्लामा रेखाङ्कन परिवर्तन तथा स्लोप स्टेबिलाइजेशनका संरचना बनाउन थप आवश्यक १२८–२–०–२.५५ रोपनी नम्बरी जग्गा तथा विभिन्न जग्गाहरूमा निर्मित भौतिक संरचनाहरूको क्षतिपूर्ति दिने काम भइरहेको छ ।
ललितपुर जिल्लामा सुरुङ मार्ग तथा स्लोप स्टेबिलाइजेसनका संरचना निर्माणका लागि थप आवश्यक ५४–११–३–१.८२ रोपनी नम्बरी जग्गा मूल्य निर्धारणको क्रममा छ ।
मकवानपुर जिल्लामा सुरुङ मार्ग तथा स्लोप स्टेबिलाइजेसन संरचना निर्माण गर्न थप आवश्यक २८–१५–३–१.१९ रोपनी नम्बरी जग्गाको मूल्य निर्धारण हुँदै छ ।
कति भयो खर्च ?
द्रुतमार्गको परिमार्जित विस्तृत आयोजना प्रतिवेदनअनुसार, आयोजनाको कुल लागत दुई खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ छ ।
सरकारले द्रुतमार्गका लागि गत आर्थिक वर्ष २०८१/८२ का लागि २२ अर्ब ५४ करोड ९३ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
उक्त बजेटमध्ये गत वर्ष १३ अर्ब ४५ करोड ७९ लाख २८ हजार १३८ रुपैयाँ खर्च भएको सेनाले जनाएको छ । सेनाका अनुसार, द्रुतमार्ग निर्माणमा हालसम्म ८० अर्ब ८४ करोड रुपैयाँ खर्च भइसकेको छ ।