ड्यालस (अमेरिका) । गजलकार बिटु केसी बरालको हालै प्रकाशित नयाँ कृति ‘धीत’माथि आइतबार अमेरिकाको ड्यालसमा परिचर्चा गरिएको छ । दुई दशकको अमेरिका बसाइलाई बिट मारेर केही समयअघि नेपाल फर्किएकी केसीको नयाँ कृति ‘धीत’ गजलहरूको संग्रह हो ।
‘धीत’ले वर्तमान परिवेशमाथि चोटिलो प्रहार गरेको कार्यक्रमका वक्ताहरूले बताए । साहित्यकार भीम कार्कीले ‘धीत’ अमेरिका र नेपालको समसामयिक परिवेशमाथि लेखिएको उल्लेख गरे । गजलकार केसीबाट भविष्यमा थप उत्कृष्ट साहित्यिक कृति सिर्जना हुने उनले अपेक्षा व्यक्त गरे ।
अर्का समीक्षक तथा लेखक सञ्जय घिमिरेले गजल आफैँमा चोटिलो विधा भएको बताए । समीक्षाभन्दा पनि गजल सुन्दा अझै चाखपूर्ण हुने उनले टिप्पणी गरे ।
लेखिका केसीले गजलकृति रचना गर्दाका अनुभव सुनाइन् । आफूलाई अमेरिकाले नै यो विधामा कलम चलाउन प्रेरणा दिएको उनले उल्लेख गरिन् ।
हिमालयखबर अनलाइन र स्रष्टा साँझद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ड्यालस फोर्टवर्थकी च्याप्टर अध्यक्ष निर्मला राई, साहित्यकारहरू भगवती पौडेल, शिलु घिमिरे, वासुपुष्पा अधिकारी, तारा बरालले उक्त संग्रहबाट गजलवाचन गर्नुका साथै कृतिका बारेमा चर्चा गरे ।