site stats
बाह्रखरी :: Baahrakhari
देश
महासंघको ‘अल्टिमेटम’ सकिन दुई दिन बाँकी, सल्टिएन शिक्षा विधेयक विवाद
फाइल तस्बिर ।

काठमाडौं । शिक्षा विधेयक पारित गर्न नेपाल शिक्षक महासंघले दिएको ‘अल्टिमेटम’ सकिन दुई दिन बाँकी छ । तर, विधेयक अहिलेसम्म छलफलमै छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी मधुप्रसाद घिमिरेले विधेयकमाथि अझै पनि छलफल भइरहेको जानकारी दिए ।

“विधेयक रोकिएको होइन । शिक्षकहरूसँग निरन्तर छलफल भइरहेकै छ । अझै केही दिन लाग्ला,” घिमिरेले बाह्रखरीसित भने ।

सरकार र महासंघबीचको विवादका कारण शिक्षा विधेयकमा छलफल गर्न प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकसमेत बोलाउन नसकिएको सभापति अम्मरबहादुर थापाले बताए । 

“समितिको बैठक बोलाउन सकिएको छैन । आज शिक्षा विधेयकमाथि परामर्श समितिको बैठक छ । त्यसपछि समितिको बैठक बोलाउने भन्नेबारे टुंगो लाग्छ,” उनले भने ।

महासंघ र सरकारबीच अस्थायी प्रकृतिको शिक्षक र शिक्षकको कार्यसम्पादन मूल्यांकन, शिक्षक पदपूर्ति, पूर्वप्राथमिक शिक्षा (ईसीडी)लगायत विषयमा अझै सहमति जुट्न सकेको छैन ।

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले शिक्षा विधेयक पारित हुने सम्भावना टर्दै गएको बताइन् । “अल्टिमेटमभित्रै विधेयक पारित हुनेमा अब हामी विश्वस्त छैनौँ । अल्टिमेटम सकिएपछि कसरी अगाडि बढ्ने भन्ने कुरा महासंघको बैठकले निर्णय गर्छ,” उनले भनिन् । 

पराजुलीले मन्त्रालयले आफूहरूलाई नबोलाएको पनि बताइन् । “आधिकारिकरूपमा मन्त्रालयले हामीलाई बोलाएको छैन । साउन १६ र १७ गते हामीले शिक्षामन्त्री र सचिवको समय लिएर भेट्न गयौँ । त्यसबेला उहाँहरूसँग ईसीडी कार्यकर्ता, अस्थायी प्रकृतिका शिक्षकलगायत केही दफामा छलफल भएको थियो,” उनले भनिन् । 

शिक्षा विधेयकमाथि सरकारले गरिरहेको गतिविधिबारे महासंघ अन्योलमै रहेको उनको भनाइ छ । साउन २१ गतेसम्मको ‘अल्टिमेटम’ सकिएपछि महासंघको बैठक बस्ने र त्यसपछिका रणनीति तय गरिने उनी बताउँछिन् ।

गत चैत २० गतेदेखि एक महिनासम्म महासंघले शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर काठमाडौंको माइतीघर–बबरमहल–बानेश्वरकेन्द्रित सडक आन्दोलन गरेको थियो ।

त्यतिबेलै तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले मन्त्री पदबाटै राजीनामा दिएकी थिइन् । त्यसपछि मन्त्री बनेका शिक्षामन्त्री रघुजी पन्तले गत वैशाख १७ गते महासंघबीच शिक्षा विधेयकलाई असार १५ गतेभित्र पारित गर्ने प्रतिबद्धतासहित नौबुँदे सहमति गरेका थिए ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्