काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादव र संलग्न एक मतियारलाई अभियुक्त बनाएर भ्रष्टाचार मुद्दा चलाएको छ । यादव नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।
आयोगले वडाध्यक्ष यादव र मतियारका रूपमा विपीनकुमार पाण्डेयमाथि तीन लाख रुपैयाँ घुस लिएको अभियोग लगाई सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
आयोगले ‘सिसु सेमरा दक्षिण धोबहिया छठ घाट निर्माण’, ‘पुर्निकोट गाउँभित्र सडक पीसीसी ढलान’ र ‘सुरहवाँ गाउँभित्र सडक पीसीसी ढलान’बापतको रकम भुक्तानी गर्ने सिलसिलामा मोलमोलाइ गरी घुस लिएको अभियोग लगाएको हो ।
सेवाग्राहीसँग गणेश ट्रेडिङका सञ्चालकका छोरा विपीनकुमार पाण्डेमार्फत रिसवत लिन लगाएको तथ्य पुष्टि भएको दाबी आयोगको छ ।
आयोगको टोलीले वडाध्यक्ष यादव र पाण्डेयबाट घुस रकमसहित नियन्त्रणमा लिएको थियो । आयोगको दाबीमा पाण्डेयले मतियारको रूपमा संलग्न भई भ्रष्टाचारजन्य कसुरमा सहकार्य, सहजीकरण तथा सघाउने कार्य गरेको पाइएको छ । आयोगले बिगो, त्यही बराबर जरिवाना र कैद सजाय माग गरेको छ ।