काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लूभीएल)को फ्रेन्चाइज टिम मधेस युनाइटेडले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । लोगोले खेल, संस्कृति र मधेसी गर्वलाई एउटै प्रतीकमा समेटेको छ । नयाँ लोगो हरियो रंगको छ ।
मधेस युनाइटेडका अनुसार, खेलकुद र संस्कृतिको संयोजन रहेको लोगोको केन्द्रमा भलिबल राखिएको छ, जसले टिमको खेल र प्रतिस्पर्धाको भाव दर्शाउँछ । यसको चारैतिरका लहरहरूले भलिबलको गतिशीलता, ऊर्जा र तीव्रताको प्रतीक दर्शाउँछ ।
लोगोको माथिल्लो भागमा जानकी मन्दिर प्रेरित एक मन्दिरको आकृति छ, जुन मधेस क्षेत्रको सांस्कृतिक पहिचान र धार्मिक सम्पदाको प्रतीक हो । मन्दिरले मधेसको ऐतिहासिकता र संस्कृतिलाई समेटेको छ ।
मधेस युनाइटेडले मधेसको सांस्कृतिक सम्पदा र महिला भलिबलको उदयशील प्रतिनिधित्वलाई लोगोमा एकैसाथ प्रस्तुत गरिएको जनाएको छ ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा हुन लागेको दोस्रो एभरेस्ट वुमन्स भलिबल लिग आगामी भदौ २० गतेदेखि भदौ २८ गतेसम्म हुनेछ ।