site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
प्रेमबिना अधुरो जीवन

जिन्दगी अनेकौँ भावनाहरूको सँगालो हो । जन्मेपछि मानिसले जुन यात्रा सुरु गर्छ, त्यो केवल सास फेरिरहने प्रक्रिया होइन । त्यो अनुभूतिहरू, सम्बन्धहरू, पीडा, खुसी, सपना र संघर्षहरूको संगम हो ।

हरेक मानिसको जीवन फरक हुन्छ । फरक हुन्छ उसको सोच, इच्छा र जिन्दगी हेर्ने नजरिया पनि । तर, जे जस्तो भिन्नता भए पनि एउटा कुरा सबैका लागि समान छ, प्रेमप्रतिको गहिरो आकांक्षा ।

मानिस चाहे जतिसुकै व्यस्त, सम्पन्न वा बौद्धिक किन नहोस्, ऊभित्र कतै गहिरो ठाउँमा प्रेमको चाहना लुकेको हुन्छ । चाहे त्यो प्रेम आमाबुबाको होस्, साथीको, जीवनसाथीको होस् वा आफूले एकपक्षीय माया गरेको कसैप्रतिको होस्, त्यो चाहनाले नै जीवनको प्रवाहलाई गति दिएको हुन्छ ।

यद्यपि, हामी स्वीकार गर्छौं, जीवन प्रेम मात्र होइन । हामीलाई जीवित रहन खाना चाहिन्छ । शिक्षा चाहिन्छ । स्वास्थ्य र आत्मनिर्भरता चाहिन्छ । तर, ती सबैका बीचमा पनि प्रेमले नपुगेको जीवन एक किसिमको खालीपनजस्तै लाग्छ । पीडादायक लाग्छ ।

कहिलेकाहीँ मानिसले सोच्दछन्– प्रेम के हो ? के त्यो केवल दुईजनाबीचको आकर्षण हो ? केवल मुटुको धड्कन बढाउने अनुभूति मात्र हो ? समय बिताउने बहाना हो ?

तर, प्रेम त्यस्तो क्षणिक अनुभूति होइन, जुन आयो र गयो । प्रेम त्यो स्थायी शक्ति हो, जसले मानिसको हृदयभित्रको सबैभन्दा संवेदनशील पक्षको उजागर गर्छ ।

प्रेम त्यस्तो न्यानो छाया हो, जहाँ मानिस आफ्नो कमजोरी, डर, थकान र पीडाहरू लुकाउन सक्छ र आत्मबलसहित फेरि अघि बढ्न सक्छ ।

जीवनमा जब मानिससँग पैसा हुन्छ, प्रतिष्ठा हुन्छ, अरू सबै कुरा प्राप्त हुन्छ, तब ऊ भन्छ, ‘अब म सफल भएँ ।’ तर, त्यो सफलतामा साथ दिने कोही छैन भने त्यो सफलता आफैँमा अधुरो लाग्छ ।

तपाईंले ठूला सपना पूरा गर्न सक्नुहुन्छ, तर त्यसको खुसी बाँड्न कोही छैन भने त्यो सपना अधुरो रहन्छ ।

साँचो कुरा त के हो भने, प्रेमले जीवनको उपलब्धिहरूलाई अर्थ दिन्छ । प्रेमले तपाईंको संघर्षमा साथ दिन्छ । तपाईंको सफलता मनाउँछ । तपाईंको असफलतामा चुपचाप बसेर तपाईंलाई सम्हाल्छ । मार्गदर्शन गर्छ ।

प्रेम एक नदेखिने शक्ति हो, जुन हरेक परिस्थितिमा तपाईंको आत्मालाई छुन जान्दछ ।

प्रेममा पनि भिन्न रूप हुन्छन् । केवल केटा र केटीबीचको रोमान्टिक सम्बन्ध मात्र होइन, प्रेम बाआमाले आफ्ना छोराछोरीमा देखाउँछन् । दाजुबहिनीबीचको भावना पनि प्रेम हो । साथीबीचको बन्धन पनि प्रेम हो ।

र, अझ गहिरो प्रेम भनेको आफूप्रति देखिने आत्मसम्मान र आत्मप्रेम हो । जब तपाईं आफूलाई प्रेम गर्न सिक्नुहुन्छ, तब मात्र अरूलाई प्रेम दिन सक्नुहुन्छ । 

जब तपाईं आफ्नो मूल्य बुझ्नुहुन्छ, तब मात्र सम्बन्धहरू सन्तुलित हुन सक्छन् र सन्तुलन हुन जान्छन् ।

तर, साँचो प्रेम सधैँ सहज हुँदैन । जीवनका धेरै मोडहरूमा प्रेम अधुरो रहन्छ । गलत बुझिन्छ । चोट दिन्छ । पीडाको जँघारमा बाँचिन्छ । एकतर्फी प्रेम, अस्वीकृत माया, धोका — यी सबैले प्रेमलाई नकारात्मक अनुभूति दिन सक्छन् ।

तर, यी सबैको बाबजुद पनि मानिस फेरि प्रेम गर्न खोज्छ । किनभने, प्रेम केवल खुसी होइन, यो अस्तित्वको खाल्टो पूर गर्ने माध्यम हो । बाटो हो । अधुरो प्रेमले पनि मानिसलाई धेरै कुरा सिकाउँछ, कसरी आफैँभित्रको शक्ति भेट्ने, कसरी गुमाएका सम्बन्धहरू सम्झिएर पनि अगाडि बढ्ने र कसरी आफूलाई अझ गहिरो रूपले चिन्ने ।

प्रेमबिना जीवन भनेको केवल दिन बिताउने प्रक्रिया हो । शरीर चलिरहन्छ, घडीको सुई घुमिरहन्छ । तर, मन शून्यमै रहन्छ । मानिससँग सबै कुरा हुँदा पनि एक्लो महसुस हुनु प्रेमको अभावको चिनारी हो ।

हामी भन्छौँ— पढाइ छ, जागिर छ, गाडी छ, घर छ, हरेक कुरा छ, तर मनमा चिसोपन छ । त्यो चिसोपन हटाउने एक मात्र शक्ति हो, प्रेम । कसैले बुझोस् भन्ने चाहना, कसैले नजिक होस् भन्ने अभिलाषा, कसैले ‘म तिमीलाई बुझ्छु’ भन्ने भावना — यी सबै प्रेमका रूप हुन् ।

अर्को पक्ष हेर्ने हो भने, आजको यो समाजमा प्रेमको परिभाषा कमजोर हुँदै गएको देखिन्छ । प्रेमलाई केवल आकर्षण, मनोरञ्जन, स्वार्थ वा घडीअनुसारको सम्बन्धको रूपमा लिएको छ ।

सामाजिक सञ्जालमा ‘माया गर्छु’ भन्न सजिलो छ, तर ‘तिमी दुखी छौ भने म तिमीलाई सम्हाल्छु’ भन्न गाह्रो भएको छ । प्रेम गहिरो अनुभूति हो, तर आज त्यो सतही बनाइँदै छ ।

साँचो प्रेम भनेको समय, समझदारी, धैर्य र समर्पण चाहिन्छ भन्ने कुरा बिर्सिंदै छौँ हामी ।

अर्कोतर्फ, प्रेमलाई सबैथोक मानेर आफ्नो आत्मसम्मान गुमाउने मानिसहरू पनि कम छैनन् । प्रेममा समर्पण त आवश्यक छ, तर त्यो समर्पण आफूलाई नोक्सान हुने गरी होइन ।

प्रेममा समझदारी, बराबरी र स्वतन्त्रताको भावना पनि हुनुपर्छ । प्रेम यदि नियन्त्रण, शंका, पीडा र घृणाको कारण बन्छ भने त्यो प्रेम होइन । त्यो केवल सम्बन्धको नाममा आत्मा थिचिएको अवस्था हो ।

त्यसैले प्रेम गर्नुका साथै प्रेमबाट बाँच्न पनि जान्नुपर्छ । प्रेमले जीवनलाई भरिन्छ, तर प्रेमले आफूलाई हराउनु हुँदैन । ओझेलमा पार्नु हुँदैन ।

हामी सबैले प्रेमलाई गहिरो रूपमा महसुस गरेका छौँ । जब आमाले छोरालाई भोक लागेको बेला खाना दिएर आफैँ भोकै बस्छिन्, त्यो प्रेम हो । जब दाजुले बहिनीलाई पढ्न पठाउन आफ्ना इच्छा त्याग्छ, त्यो प्रेम हो ।

जब एकजना प्रेमीले आफ्नो प्रेमिकाको खुसीका लागि आफू टाढा बस्छ, त्यो प्रेम हो । र, जब तपाईं आफूलाई थिच्ने संसारमा पनि हाँस्ने साहस राख्नुहुन्छ, त्यो आत्मप्रेम हो ।

प्रेम केवल भावना होइन, त्यो व्यवहार हो । त्यो रोजाइ हो, दिनहुँ अपनाउने, बुझ्ने, सँगै बस्ने, माफ गर्ने, स्वीकार गर्ने । प्रेम एउटा फूलजस्तो हो, जसलाई हरेक दिन पानी हाल्नुपर्छ । नत्र त्यो ओइलिन्छ ।

हिजोको माया, आजको गल्तीमा हराउन सक्छ, यदि बुझाइ, संवाद र समर्पण छैन भने । त्यसैले प्रेमलाई जीवित राख्न पनि जिम्मेवारी र प्रयास चाहिन्छ ।

प्रेमले मानिसलाई सिर्जनात्मक बनाउँछ । प्रेममा परेका व्यक्तिहरू विशेष गरी कविता लेख्न थाल्छन् । गीत गाउन थाल्छन् । गजल लेख्न थाल्छन् । कल्पना गर्न थाल्छन् ।

प्रेमले निराश जीवनलाई रंगीन बनाउँछ । त्यो प्रेम सधैँ भौतिक नहुन सक्छ । सायद त्यो प्रेम कहिल्यै प्रकट नहुन सक्छ । तर, त्यो अनुभूति सधैँ मनभित्र बाँचिरहन्छ । त्यो अनुभूति नै जीवनको सौन्दर्य हो । बाँच्ने आधार हो ।

जब प्रेम जीवनमा हुन्छ, तब दुःखमा पनि ढाडस हुन्छ । जब प्रेम जीवनमा हुँदैन, तब खुुसीमा पनि खालीपन हुन्छ । जब प्रेमले तपाईंलाई सम्हाल्छ, तब संसारको हरेक चुनौती सानो लाग्छ ।

प्रेमले नदेखिने शक्ति दिन्छ, जुन संसारकै सबैभन्दा दुर्लभ ऊर्जा हो । त्यही ऊर्जा नै हो, जसले हिजोको आँसुलाई आजको मुस्कानमा बदल्छ ।

अन्त्यमा, प्रेम जीवनको पूरक हो । जीवन केवल प्रेम होइन । हामीलाई सपना चाहिन्छ । संकल्प चाहिन्छ । साहस चाहिन्छ । कर्म चाहिन्छ ।

तर, यी सबै कुराहरूले मिलेर पनि जीवनलाई केवल चलाउँछन्, पूरा गर्दैनन् । जीवनलाई भरिएको, अनुभूतिपूर्ण र सार्थक बनाउने तत्त्व भनेको प्रेम नै हो ।

त्यो प्रेम जसले मन छुन्छ, आँखा रसाउँछ, हृदय जोड्दछ । त्यो प्रेम, जुनबिना जीवन अधुरो हुन्छ । 

(व्याँस, दार्चुला) 

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्