लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ मा निर्माणधीन ४०.२७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक कामदारको मृत्यु भएको छ । तीनजना घाइते छन् । पहिरोमा पुरिएर मृत्यु र घाइते भएका हुन् ।
शनिबार (साउन २४) दिउँसो अचानक खसेको पहिरोमा पुरिएर बेँसीसहर नगरपालिका–८ मा अस्थायी रूपमा बस्दै आएका ४४ वर्षीय लगनध्वज गुरुङको मृत्यु भएको लमजुङ प्रहरीका डीएसपी रमेश बोहोराले जानकारी दिए ।
दोर्दी गाउँपालिका–५ का २१ वर्षीय विराज गुरुङ, मध्यनेपाल नगरपालिका–७ का ३५ वर्षीय प्रितम लामा र प्युठानको झिम्रुक गाउँपालिका–६ का २५ वर्षीय विकास विष्ट घाइते भएका उनले बताए ।
बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ ।
आयोजनाको काम गरेर उनीहरूले क्याम्पमा खाना खाने क्रममा पहिरो खसेको थियो । भाग्ने क्रममा पहिरोमा परी एकको मृत्यु र तीनजना घाइते भएका डीएसपी बोहोराले जानकारी दिए ।
उनका अनुसार, उक्त क्याम्पमा करिब ४० कामदार बस्दै आएका थिए । भाग्ने क्रममा चारजना पहिरोमा परेका हुन् । अरू ३६ जना भने सकुशल रहेका प्रहरीले जनाएको छ ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । रासस