काठमाडौं । मुस्ताङका ढुम्बा र मार्फा खोलामा सोमबार (साउन २६) बिहान बाढी आएको छ । एक्कासि बाढी आएको र हाल त्यो घटिसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विष्णुप्रसाद भुसालले जानकारी दिए ।
गेग्य्रानसहितको बाढी आएको उनले बताए । “बिहान एक्कासि ढुंगामाटोसहितको बाढी आएको थियो,” उनले बाह्रखरीसित भने, “अहिले घटिसक्यो । क्षति हुने खालको होइन ।”
बाढीबाट कुनै क्षति नभएको उनले बताए । बर्खायाममा बेलाबेलामा एकैछिन यस्तो खालको बाढी आउने गरेको उनको भनाइ छ ।
बाढी आएको बेला पानी परिरहेको थियो । यति बेला (सोमबार अपराह्न ४ः१० बजे) पनि वर्षा भइरहेको उनले जानकारी दिए ।
उनका अनुसार, ढुम्बासहितका ती खोलामा बर्खायाममा मात्र पानी/बाढी देखिन्छ । अरू मौसममा ठूलो पानी/बाढी हुँदैन ।
नीलगिरि हिमालको फेदबाट उत्पत्ति भएर ढुम्बा खोला बग्दै आउँछ । त्यो कालीगण्डकी नदीमा मिसिन्छ । कालीगण्डकीमै मिसिने मार्फा खोलाको मुहान भने धौलागिरि हिमालको काख भएको सीडीओ भुसालले बताए ।
“बेलाबेला हिउँका डल्लाहरू पनि खसेर पानी बनेर आउँदा त्यसले ढुंगा, माटोहरू बगाएर ल्याउँदो रहेछ,” उनले भने, “तर, आजसम्म ठूलो क्षति गरेको देखिएको छैन । ती साना खोला हुन् ।”
मुस्ताङमा ढुम्बा, मार्फासहित स्याङ, कागलगायत साना खोला रहेको उनले जानकारी दिए ।
भिडियो हेर्नोस्–