पाँचथर । पाँचथरमा आर्थिक वर्ष २०८१ /८२ मा लडेर २५ जनाको मृत्यु भएको छ । भवितव्यमा ज्यान गुमाउनेमध्ये लडेर मृत्यु हुने सबैभन्दा बढी छन् ।
विशेषतः ग्रामीण क्षेत्रमा रातको समयमा पैदलयात्रा गर्दा लडेर मृत्यु हुने गरेको छ । मेलापात, गाउँघर, छरछिमेकबाट घर फर्कंदा रातको समयमा धेरै मानिस लड्ने र ज्यान जाने गरेको छ । गत आवको एकै वर्षमा लडेर २५ जनाले लडेर ज्यान गुमाएका हुन् ।
गाउँघरमा मादकपदार्थ सेवन गरी पैदलयात्रा गर्ने क्रमले पनि धेरैको अनाहकमा ज्यान जाने गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी कौशलकुमार बुढाथोकीले बताए ।
घाँसदाउरा गर्न, पशु चराउन गएकाहरू पनि अचानक लडेर ज्यान जाने गरेको छ । ग्रामीण क्षेत्रमा दुर्घटनामा परेकाहरूको उद्धार समेत समयमा हुन नसक्दा मृत्यु हुनेको संख्या बढिरहेको छ । रासस