site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसी र मधेसमा १२ घण्टासम्म भारी वर्षाको पूर्वानुमान, काठमाडौंमा केहीबेर
फाइल तस्बिर ।

काठमाडौं । कोसी र मधेसमा प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज अपराह्नदेखि कोसी र मधेसमा १० देखि १२ घण्टासम्म लगातार भारी वर्षाको सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिएका छन् ।

उनका अनुसार, भोलि बिहान काठमाडौंमा पनि केहीबेर भारी वर्षाको सम्भावना छ । त्यसपछि वर्षा गराउने प्रणाली पश्चिमतर्फ सर्नेछ । भोलि राति पश्चिम नेपालका भूभागमा भारी वर्षाको सम्भावना छ ।

वर्षासँगै कोसी, मधेस, लुम्बिनीसहित अरू प्रदेशका दक्षिणी भेगमा बाढीपहिरोको जोखिम रहेको उनको भनाइ छ ।

"मधेस र कोसीमा लामो समयसम्म भारी वर्षाको सम्भावना छ । अरू प्रदेशमा भने थोरै समय पानी पर्न सक्छ," पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

उनले आज राति र भोलि लामो सडकयात्रा नगर्न सुझाव दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशभर हाल वर्षा गराउने प्रणाली मनसुन सक्रिय छ । 

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्