काठमाडौं । रुपन्देही कारागार कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सुरुदेखि नै टेलिफोन र भेटघाट गर्ने सुविधा दिइएको स्पष्ट पारेको छ । लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गरी सुरुआतदेखि नै छुट्टै कोठामा राखिएको कार्यालयले जनाएको छ ।
रुपन्देही कारागार कार्यालयद्वारा बिहीबार (साउन २९) जारी विज्ञप्तिमा भनिएको छ, “उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था रहेको छ । उक्त कोठाको झ्यालमा साबिकमा रहेको प्लाइउड हटाई जाली राखी सकिएको छ । निजलाई प्रारम्भदेखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम छ ।”
स्थानीय अस्पताल र चिकित्सकको सिफारिसमा बिरामी बन्दीको आवश्यकताअनुसार स्थानान्तरण गरी थप उपचार गर्ने प्रबन्ध मिलाउँदै आएको विज्ञप्तिमा उल्लेख छ ।
“सबै बन्दीहरूबीच मेलमिलाप कायम गरी शान्ति सुरक्षा र मानवअधिकारमैत्री वातावरण सिर्जना गर्न यस कारागार कार्यालय प्रतिबद्ध रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ ।
विगत केही दिनयता यो कारागारमा रहेका बन्दीहरूले प्राप्त गरेका सेवा सुविधाका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारका विषयमा गम्भीर ध्यानाकर्षण भएको कार्यालयले जनाएको छ ।
रुपन्देही कारागारमा कुल २५० बन्दी राख्ने क्षमता छ । हाल ६४० बन्दी रहेका विज्ञप्तिमा उल्लेख छ ।
क्षमताभन्दा साढे दुई गुणा बढी बन्दी रहेको अवस्थामा पनि कार्यालयले कानुनबमोजिमका सेवा सुविधा समयमा नै उपलब्ध गराउँदै आएको विज्ञप्तिमा जिकिर गरिएको छ ।
कारागारको भौतिक संरचना र क्षमताअनुसार बन्दीहरूलाई खाने, बस्ने, हिँडडुल गर्ने, पढ्ने (विद्यालय शिक्षा/पत्रपत्रिका), टेलिभिजन हेर्ने र आफन्तलाई भेटघाट तथा टेलिफोन गर्ने सुविधा समान रूपमा उपलब्ध गराउँदै आएको जनाइएको छ ।
कारागार ऐन, २०७९ तथा कारागार नियमावली, २०२० बमोजिम अशक्त, अपांगता भएका, ज्येष्ठ नागरिक तथा सुरक्षा जोखिम भएका व्यक्तिहरूलाई थप सुविधा समेत उपलब्ध गराउने गरिएको विज्ञप्तिमा उल्लेख छ ।
“थप सुविधा उपलब्ध गराउने सम्बन्धमा कानुनबमोजिमका सकारात्मक विभेदबाहेक बन्दीहरूको बीचमा अन्य विभेद गरिएको छैन । कारागार प्रशासनको तर्फबाट समय–समयमा कारागारभित्रको वस्तुस्थिति अवलोकन गर्ने, बन्दीहरूका गुनासो सुन्ने र स्रोतसाधनले भ्याएसम्म त्यसको सम्बोधन गर्ने कार्य गरिँदै आएको छ,” विज्ञप्तिमा भनिएको छ ।