site stats
बाह्रखरी :: Baahrakhari
देश
धरान उपमहानगरको बजेट दुई अर्ब २० करोड निर्धारण

काठमाडौं । धरान उपमहानगरपालिकाको स्रोत अनुमान तथा सीमा निर्धारण समितिको बैठकले बजेटको सीमा निर्धारण गरेको छ । 

महानगरका मेयर हर्कराज राईको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट सीमा निर्धारण गरेको हो ।

महानगरका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)ले दुई अर्ब २० करोडको सीमा निर्धारण गरिएको जानकारी दिए ।

“सीमा निर्धारण समितिले दुई अर्ब २० करोड बजेटको सीमा निर्धारण गरेको छ । वडाहरूले सिलिङ पाए । अर्को शुक्रबारसम्म बजेट ल्याउने तयारी हो,” भट्टराईले बाह्रखरीसित भने ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ अनुसार उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले नयाँ आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) कार्यपालिकाबाट स्वीकृत गरी असार १० गतेभित्र नगरसभामा पेस गर्नुपर्छ ।

त्यसपछि बजेट असार मसान्तभित्र ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । बजेट पारित नगरी रकम खर्च गर्न पाइँदैन ।

तर, धरानमा मेयर र उपमेयरबीच विवाद हुँदा समयमै बजेट आउन सकेन । धरानमा अहिले आर्थिक गतिविधि ठप्प छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १४:३३
प्रतिक्रिया दिनुहोस्