काठमाडौं । अध्यागमन विभागले टिकट काटेका यात्रुलाई बोर्डिङ पास नदिने वायुसेवा कम्पनीहरूलाई ‘लिखित जवाफ’ दिन भनेको छ । विभागले आइतबार एक सूचना प्रकाशित गरी यस्तो अनुरोध गरेको हो ।
“कतिपय वायुसेवा कम्पनीहरूले टिकट काटेका यात्रुहरूलाई बोर्डिङ पास नदिई फिर्ता गर्दा समेत अध्यागमन कार्यालयबाट अफलोड गरेको भन्ने भ्रामक सूचना प्रचार हुने गरेकाले अब उप्रान्त कुनै पनि यात्रुलाई बोर्डिङ पास उपलब्ध गराउन नसक्ने अवस्था भएमा सो को कारण खोली यात्रुहरूलाई लिखित रूपमा जानकारी दिने व्यवस्था मिलाउनुहुन अनुरोध गरिन्छ,” गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले भनेको छ ।
यात्रुहरूको सुरक्षित, मर्यादित र पारदर्शी आप्रवासन यात्राको अधिकार सुनिश्चित गर्दै राष्ट्रिय सुरक्षामा कुनै सम्झौता नहुने गरी सबै यात्रुहरूलाई विमानको प्रस्थान समयभन्दा कम्तीमा एक घण्टाअगावै अध्यागमनको ‘स्टेरेलाइज्ड एरिया’मा अनिवार्य रूपमा पठाउन पनि विभागले सबै वायुसेवा कम्पनीहरूलाई भनेको छ ।
“यसका लागि चेक इन काउन्टर समयमै बन्द गर्ने व्यवस्था मिलाई अध्यागमन क्षेत्र र प्रक्रियामा अनावश्यक दबाब तथा असहज अवस्था नहुने गरी व्यवस्थापन गर्नुहुन अनुरोध गरिन्छ,” सूचनामा भनिएको छ ।
कतिपय वायुसेवा कम्पनीहरूले अत्यधिक ‘ओभरबुकिङ’ गर्ने, बोर्डिङ पास जारी गर्दा समेत नागरिकको हैसियतका आधारमा व्यवहार गर्ने भन्ने सूचना प्राप्त भएकाले त्यस्ता प्रकारका गतिविधिमा संलग्न नहुन नगराउ पनि विभागले सचेत गराएको छ ।
हवाई टिकट बुकिङ गर्दा सिट क्षमताभन्दा बढी टिकट बुकिङ नगर्न र यस विषयमा सम्बन्धित वायुसेवा कम्पनी तथ सेल्स एजेन्टका कर्मचारीलाई सुसूचित गराउन अध्यागमन विभागले भनेको छ ।
“यस्ता क्रियाकलापउपर विशेष निगरानी राखिएको छ । यदि यस्ता प्रकारका क्रियाकलापमा वायुसेवा कम्पनी वा कर्मचारीहरूको संलग्नता पाइएमा प्रचलित कानुनबमोजिम अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइनेछ र सोको विवरण सार्वजनिकीकरण गरिनेछ,” विभागले चेतावनी दिएको छ ।