काठमाडौं । कुवेतमा गत साता विषाक्त मदिरा सेवन गरी मृत्यु हुनेमध्ये पाँचजनाको शव काठमाडौं आइपुगेको छ ।
“हामीले मृत्यु हुनेमध्ये पाँचजनाको शव काठमाडौं पठाएका छौँ । ती शव बिहीबार काठमाडौं पुगिसकेको छ,” कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले बाह्रखरीलाई भने ।
गत साता कुवेतमा विषाक्त मदिरा सेवन गरी अशक्त बनेका १६० जनाभन्दा बढी एसियाली नागरिक अस्पताल भर्ना भएका थिए । तीमध्ये ५० जनाभन्दा बढी नेपाली थिए ।
विषाक्त मदिरा सेवनका कारण २३ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये १२ जना नेपाली रहेको पुष्टि भएको कुवेतको गृह मन्त्रालयले त्यहाँस्थित नेपाली दूतावासलाई जानकारी दिएको छ । नेपाल पत्रकार महासंघको कुवेत शाखाले भने विषाक्त मदिरा सेवन गर्दा १६ नेपालीको मृत्यु भएको जनाएको थियो ।
“कुवेत सरकारले हालसम्म १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । यीमध्ये पाँचजनाको शव हामीले पठाएका हौँ । बाँकी सातजनाको शव आउँदो साता काठमाडौं पठाउँछौँ,” श्रम सहचारी आचार्यले भने ।
श्रम सहचारी आचार्यका अनुसार, विषाक्त मदिरा सेवन गरी अशक्त बनेका १३ जना अझै कुवेतका विभिन्न अस्पतालमा उपचारत छन् । यीमध्ये सातजनाको आईसीयूमा, केहीलाई भेन्टिलेटर र केहीको वार्डमा उपचार भइरहेको छ ।