काठमाडौं । सुनकोसी वाङ्मय प्रतिष्ठानको पहिलो साधारणसभा सम्पन्न भएको छ । काभ्रपलाञ्चोकमा ६ महिनाअघि दर्ता भएको साहित्यिक संस्थाले काठमाडौंकेन्द्रित विभिन्न साहित्यिक क्रियाकलाप गर्दै आएको छ ।
शुक्रबार काठमाडौंमा सम्पन्न साधारणसभाले महासचिव प्रदीप सापकोटा र कोषाध्यक्ष तारा केसीद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र अर्थ प्रतिवेदन पारित गरेको छ ।
साधारणसभाले साहित्यकार छविरमण सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । सभाले प्रतिष्ठानको उपाध्यक्षमा रामसुन्दर देउजा, महासचिवमा प्रदीप सापकोटा, कोषाध्यक्षमा तारा केसी तथा सदस्यहरूमा वसन्तराम नकर्मी, सुभद्रा अधिकारी र पूर्णबहादुर श्रेष्ठलाई चयन गरेको छ ।
साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि प्रा.डा. लक्ष्मणप्रसाद गौतमले स्थापनाको ६ महिना नबित्दै प्रतिष्ठानले गरेको कामको प्रशंसा गरे । उनले वाङ्मय शब्दले व्यापक अर्थ बोकेको भन्दै त्यस अर्थलाई संस्थाले सार्थक तुल्याउने विश्वास व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा साहित्यकारहरू राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ रोदन, तुलसीहरि कोइराला, रामसुन्दर देउजा र छविरमण सिलवालले संस्थाका बारेमा बोलेका थिए ।
सोही कार्यक्रमपूर्व प्रतिष्ठानले लघुकथा समाजसँग सहकार्य गर्दै लघुकथा वाचन कार्यक्रम सम्पन्न गर्यो । कार्यक्रममा पूर्णबहादुर श्रेष्ठ, रूपा रिसाल, सुभद्रा अधिकारी, प्रदीप सापकोटा, श्रीओम श्रेष्ठ रोदन र सुमन सौरभले आआफ्ना लघुकथा वाचन गरेका थिए ।