site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मायाको अवसान

मायाको अवसान भन्नु एक प्रकारले मृत्यु नै हो । मायाको अवसानसँग जब जीवनको लय टुट्छ, त्यसपछि जीवन जीवन्त रहँदैन । रहन कदापि पनि सक्दैन ।

जीवनका अनेकौँ अध्यायहरूमध्ये एउटा अध्याय प्रेम हो । प्रेमको उच्चतम रूप हो, माया । यही मायाले संसार बाँधिएको छ । परस्परमा मित्रता कायम छ । सम्बन्धहरू गाँसिएका छन् । जीवनले सुखको अनुभूति गर्न पाइरहेको छ ।

वास्तवमा, माया यौटा पवित्र भावना हो । यसले जीवनलाई सुन्दर र अर्थपूर्ण बनाउँछ । यो एउटा अदृश्य धागो हो ।

यसले मानवीय मनको हृदयलाई एकै ठाउँमा बाँध्छ । यसरी अनेकतामा पनि एकताको सूत्रमा बाँधेर राखेको हुन्छ । यही मायाको पवित्र भावले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई पनि आत्मीय भावमा समेटेर राखेको हुन्छ ।

यसले जीवनलाई ऊर्जा र प्रेरणा दिन्छ । तर, यस सुन्दर र जीवन्त शब्द र स्वभावमा ‘अवसान’ जोडिएर ‘मायाको अवसान’ बन्छ । त्यसपछि त्यो शब्दहरूको मेल मात्र नभएर गहिरो हृदयविदारक अनुभव बन्छ ।

अनायासै खहरे गडगडाएर आएको बाढीजस्तै बित्यास पार्छ । प्राकृतिक प्रकोपजस्तै जमिन र जीवनलाई क्षतविक्षत गर्छ । त्यसपछि त्यहाँ कहिल्यै नसोचिएको घटना घटित हुनपुग्छ ।

अप्रत्याशित भित्रिने यस्ता दुःखद घटना हामी कोही पनि चाहँदैनौँ । तर, परिस्थितिले त्यस्तो स्थितिको सामना गर्न हामी बाध्य बनिदिनुपर्छ । हामी कोही पनि अन्त्यको कामना गर्दैनौँ । हामी सधैँ जीवन्तता, निरन्तरता र प्रगतिको चाहना राख्छौँ ।

जीवनको कठिन यात्रामा हामीले मायाको हात खोज्छौँ, मायाको सहारा नै रोज्छौँ । किनकि, हामीलाई थाहा छ, मायाले नै जीवनको अँध्यारोलाई उज्यालोमा परिणत गर्न सक्छ । मायाले नै सम्बन्धहरूलाई सुमधुर राख्छ ।

मायाको स्पर्शले नै दुःखका घाउहरू निको हुन्छन् र निराशाका बादलहरू हट्छन् । मायाले नै जीवनलाई मुस्कान र उत्साहले भरिदिन्छ । दुखिरहेको घाउमा औषधि बनिदिन्छ । रोइरहेको आँखामा हर्ष बनेर भित्रिदिन्छ ।

वास्तवमा, अवसान भन्नु खरानीमा परिणत हुनु हो । खरानी भन्नु समाप्तिको अन्तिम विन्दु हो । हामी कोही पनि र कहिल्यै पनि अवसानमा रूपान्तरण हुन चाहँदैनौँ । हामी खरानी भएर सदाका निम्ति त्यत्तिकै सिद्धिन चाहँदैनौँ ।

यो संसार मायाले नै अडिएको छ भनिन्छ । यदि, एकछिनलाई कल्पना गरौँ, यो संसारबाट माया, ममता र प्रेम हरायो भने के होला ? त्यस्तो संसार कस्तो होला जहाँ कुनै पनि सम्बन्धमा न्यानोपन र आत्मीयता हुँदैन ? जहाँ मानिसहरू एकार्कालाई घृणाको नजरले हेर्छन् ?

यस्तो संसार एउटा उजाड मरुभूमिजस्तै हुनेछ, जहाँ भावनाहरूको कुनै स्थान हुने छैन । त्यस्तो अवस्थामा जीवनका सबै रङहरू फिक्का हुनेछन् र सबै सुन्दरताहरू बेअर्थीका हुनेछन् ।

जीवनका अनेकौँ चुनौतीहरूलाई पार गर्न मायाको ठूलो भूमिका हुन्छ । मायाले नै हामीलाई अघि बढ्न, प्रगतिको शिखर चुम्न र आफ्नो लक्ष्यमा पुग्न प्रेरित गर्छ, जसरी मिठो निद्राले अँध्यारो रातहरूलाई बिहानीमा बदल्छ ।

लगातार हिँडाइले बाटोलाई गन्तव्यमा पुर्‍याउँछ । यसरी नै मायाले दुःखलाई खुसीमा र निराशालाई आशामा बदल्छ । पीडाको चोटमा, दुःखको दहमा हैरान भइरहेको मनलाई सान्त्वनाको सद्भाव र मायाको मिठासले स्पर्श गरिदिँदा त्यहाँ दैवीशक्ति प्राप्त हुन्छ ।

मायाको अभावमा मानिस भित्रबाट टुटेको र एक्लो महसुस गर्छ । जीवनका सबै सफलताहरू र उपलब्धिहरू मायाविहीन जीवनमा अर्थहीन हुन्छन् । अतः मायाको अर्थ र यसको अभिप्रायमा हामी सचेत हुनुपर्छ ।

कसैलाई माया गर्नुले कति ठूलो असर पर्छ भन्ने कुरा महसुस गर्नुपर्छ । मायाको एक शब्दले वा मायालु बोली र व्यवहारले जीवनलाई ठूलो सान्त्वना प्रदान गर्छ । कतिपय अवस्थामा मायाको प्रभावले सकारात्मक असर पार्छ । मृत्युबाट पनि बचाउन सक्छ ।

कोही मानिस बिरामी छ । उपचार गरिरहेको छ भने उसलाई हेरविचार गर्ने परिवारजन, भेट्न आउने आफन्तहरू तथा उपचारमा संलग्न डाक्टर, नर्सहरूको मायालु बोली र व्यवहारले गहिरो प्रभाव पार्छ ।

‘तपाईंलाई केही भएको छैन, अब केही हुँदैन, हामी साथमै छौँ’ भनिदिँदा बिरामीको मनोबल बढ्छ । उसमा विद्यमान निराशाको अन्त्य हुन्छ । किनभने, त्यहाँ उसले मायाको सहारा पाएको हुन्छ ।

त्यसपछि ‘म अब मर्छु’ भन्ने निराश भावबाट ऊ स्वतः आत्मविश्वासले स्वस्थ भएको महसुस गर्न थाल्छ । घिटघिट अवस्थामा पुगेको उसको श्वास क्रमशः लयमा फर्किन थाल्छ । सामान्य धड्कनमा चल्न सुरु हुन्छ । मायालु स्पर्श पाएर तरंगिन थाल्छ । तगडा भएर हिँड्न सक्ने हुन्छ ।

मान्छे कमजोर हुँदा उसलाई मायाको आवश्यकता पर्छ । उसलाई सहयोग र सहाराको जरुरत हुन्छ । यस्तो अवस्थामा माया पाउनु उसका लागि ‘ढुंगा खोज्दा देउता मिलेझैँ’ हुन्छ ।

त्यसैले यस अवस्थामा माया नपाएर कति मान्छे एक्लिएर मृत्युवरण नै गर्न पुगिरहेका हुन्छन् । मायाको आवश्यकता भइरहेको बेला मायाको अवसान हुनु भनेको केवल सम्बन्धको अन्त्य हुनु मात्र होइन, यो त जीवनको लय टुट्नु, ऊर्जाको स्रोत सुक्नु र आशाको दियो निभ्नु पनि हो । मायाको अवसानले जीवनको सुन्दर बगैँचालाई उजाड बनाउँछ ।

हामीले मायाको कदर गर्नुपर्छ । यसलाई जोगाउनुपर्छ र यसलाई सधैँ जीवित राख्नुपर्छ । किनकि, माया नै जीवनको मूल आधार हो । यसैमा हाम्रो अस्तित्वको सुन्दरता लुकेको हुन्छ । यसमै मायाको अवसान होइन, मायाको प्रारम्भ हुन थाल्छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  ०७:१४
प्रतिक्रिया दिनुहोस्