काठमाडौं । हमास समूहको नियन्त्रणमा रहेका विपीन जोशीको रिहाइमा जारी राखेको पहलका लागि उनका आमा र बहिनीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई धन्यवाद दिँदै आगामी दिनमा थप पहल गर्न आग्रह गरेका छन् ।
आइतबार भेट गर्दै मन्त्री डा. राणा र परराष्ट्र मन्त्रालयले विपीनको रिहाइका लागि हालसम्म गरेको प्रयत्नका लागि आभार व्यक्त गर्दै यसलाई आगामी दिनमा थप सक्रियताका साथ निरन्तरता दिन आग्रह गरेका हुन् ।
मन्त्री डा. राणाको पहल एवं नेपालस्थित इजरायली राजदूतावासको समन्वय तथा सहयोगमा विपीनकी आमा र बहिनी उनको अवस्था बुझ्न साथै, उनको रिहाइका लागि अपिल गर्न हालै इजरायल गएका थिए । इजरायलबाट फर्केपछि आइतबार उनीहरूले मन्त्री डा. राणालाई भेटेर यसबारेमा जानकारी गराएका हुन् ।
उनीहरूले आफूहरू इजरायलमा रहँदा त्यहाँस्थित नेपाली राजदूत प्रा. डा. धनप्रसाद पण्डित र इजरायल सरकारका अधिकारीहरूले सहयोग गरेको समेत बताए । त्यहाँ राष्ट्रपतिदेखि उच्च सरकारी अधिकारीहरूसँग भेटेर विपीनको रिहाइका लागि अपिल गर्न पाएको जानकारी गराएका थिए ।
त्यस अवसरमा मन्त्री डा. राणाले सरकारले विपीनको रिहाइमा सक्दो कूटनीतिक प्रयत्न गरिरहेको र आगामी दिनमा यसलाई थप सशक्त बनाउने बताइन् । मन्त्री डा. राणाले विपीन अपहरणमा परेको करिब नौ महिनापछि आफू मन्त्रीमा नियुक्त भएको र त्यसलगत्तै आफूले सो मुद्दालाई प्राथमिकतामा राखेर काम गरेको जानकारी दिए ।
मन्त्री डा. राणाले भनिन्, “यो एक वर्षमा म उपस्थित भएका संयुक्त राष्ट्रसंघीय महासभादेखि अन्तर्राष्ट्रिय मञ्चहरू, विभिन्न द्विपक्षीय तथा अन्तर्राष्ट्रिय बैठक तथा भेटवार्ताहरूमा विपीन रिहाइको आग्रह गरिरहेकै छु । हामीले कूटनीतिक माध्यमबाट गर्न सक्ने र मिल्नेजति पत्राचार एवं अन्य आवश्यक पहल जारी नै राखेका छौँ ।”
मन्त्री डा. राणाले आफूले इजरायल, इजिप्ट, इरान, कतार, संयुक्त अरब इमिरेट्स, टर्कीदेखि लिएर अन्य देशका विदेशमन्त्रीहरू एवं अधिकारीहरूसँगको भेट एवं फोनवार्ताका साथै संयुक्त राष्ट्रसंघदेखि अन्य अन्तर्राष्ट्रिय फोरमहरूमा पनि विपीन रिहाइको मुद्दालाई सशक्त रूपमा राख्दै आएको जानकारी उनीहरूलाई दिइन् । विपीन रिहाइको मुद्दालाई आगामी दिनमा सरकारले थप सशक्त रुपले अघि बढाउने बताइन् । सन् २०२३ अक्टोबरमा इजरायलबाट विपीन हमास समूहको अपहरणमा परेका थिए ।