site stats
बाह्रखरी :: Baahrakhari
देश
मोटरसाइकलको नम्बर परिवर्तन गरेर महिलाको सिक्री लुटपाट, यसरी परे पक्राउ

काठमाडौं । गएको असार १५ गते काठमाडौंको नागार्जुन नगरपालिका–२, नर्सरीचोकमा हिँड्दै गरेकी एक महिलाको सुनको सिक्री लुटियो । सिक्री लुटिएको जानकारी पीडितले प्रहरीलाई गरायो ।

लुटेरा २२० सीसीको पल्सर मोटरसाइकलमा सवार थिए । प्रहरीले घटनास्थलनजिकका विभिन्न सीसीटीभीमार्फत सिक्री लुट्नेमाथि अनुसन्धान गरिरहेको थियो ।

त्यसको करिब एक महिनापछि उस्तै शैलीको अर्को लुटपाट भयो । साउन १२ गते स्वयम्भूको ठूलोभर्‍याङस्थित स्वागतमार्गमा २२० सीसीकै पल्सर मोटरसाइकलमा सवार व्यक्तिले पैदलयात्री महिलाको सुनको सिक्री लुटेर भागे ।

सिक्री लुट्ने ती व्यक्तिले चढेको मोटरसाइकलका नम्बर भने फरक–फरक थियो । तर, प्रहरीले दुवै घटनामा एकै व्यक्तिको संलग्नताको आशंका गर्‍यो । प्रहरी वृत्त स्वयम्भूका प्रमुख एवं डीएसपी उद्धवसिंह भाटले सिक्री लुटपाट गर्नेमाथि अनुसन्धान गर्न विशेष टोली खटाए ।

उक्त टोलीले दुवै ठाउँको पैदलयात्रीको सिक्री लुट्ने एकजनालाई पक्राउ गर्‍यो । आइतबार (भदौ ८) साँझ स्वयम्भू प्रहरीको टोलीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ का ३६ वर्षीय कर्मा तामाङलाई पक्राउ गरेको हो ।

लुटपाट गर्न जाँदा तामाङले आफ्नो मोटरसाइकलको नम्बर परिवर्तन गरेर चढ्ने गरेको खुलेको छ । तामाङलाई काठमाडौंकै कुमारीगालबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनको साथबाट प्रहरीले लुटपाटमा प्रयोग गरिएको वाग्मती प्रदेश०२–०२९प८९६८ नम्बरको पल्सर मोटरसाइकल बरामद गरेको छ । लुटपाट गर्न जाँदा प्रयोग गरिएको वाग्मती प्रदेश०२–०३१प७०९८ नम्बरको प्लेट समेत बरामद गरिएको छ ।

स्वयम्भू प्रहरीले तामाङमाथि चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान थालेको छ । प्रहरीले अनुसन्धानका निम्ति थुनामा राख्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद पाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्