site stats
बाह्रखरी :: Baahrakhari
देश
मोटरसाइकल चर्को आवाजमा चलाउँदा कुटपिटबाट मृत्यु, आठजना समातिए

काठमाडौं । स्याङ्जामा हत्या आरोपमा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । वालिङ नगरपालिका–५, बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

पक्राउ पर्नेमा हरिनास गाउँपालिका–५ का २२ वर्षीय सिजन थापा, २० वर्षीय विवेक मानन्धर, २३ वर्षीय गोरे भनिने गुरुप्रसाद लम्साल, २३ वर्षीय विश्वास वाग्ले, १७ वर्षीय एक किशोर छन् ।

यस्तै, हरिनास–६ का २२ वर्षीय निशान थापा, चापाकोट नगरपालिका–५ का २४ वर्षीय अनिल शाही ठकुरी र १८ वर्षीय एक किशोर छन् । आइतबार (भदौ ८) उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वालिङ–५, जर्कोटमा मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा वादविवादका क्रममा ढालबहादुरमाथि शनिबार (भदौ ७) राति कुटपिट गरिएको थियो । कुटपिटबाट गम्भीर घाइते उनलाई उपचारका निम्ति पोखरास्थित गण्डकी मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा आइतबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आरोपितलाई स्याङ्जाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । उनीहरूमाथि अनुसन्धानका निम्ति स्याङ्जा जिल्ला अदालतबाट प्रहरीले १० दिनको अनुमति पाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्