काठमाडौं । हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको दर खाने लहर पछिल्लो केही दिनयता धुमधामले बढेको छ । काठमाडौं उपत्यका र उपत्यकाबाहिरका शहरका हरेक होटल, रेस्टुरेन्ट दर खाने महिला दिदी–बहिनीले भरिएको पाइन्छ । हरितालिका तीजको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व छ ।
पहिला र अहिलेको तीज
हाम्रा आमा–हजुरआमाले मनाउने तीज र यतिखेर हामीले मनाउने हरितालिका तीज एकै पर्व हो, तर चलन चाहिँ फेरिएको छ । हाम्रा आमा–हजुरआमाले तीजलाई सुखभन्दा पनि दुःख साट्ने माध्यमको पर्वका रूपमा लिने गर्थे । तर अचेल तीजलाई दुःख मात्र नभई भेटघाट, रमाइलो र सुख साट्ने पर्वका रूपमा लिन थालिएको छ ।
हरितालिका तीजलाई महिला सशक्तीकरणको पर्वका रूपमा अथ्र्याउने गरेको पाइन्छ । महिलाहरू आफ्ना अनुभव बाँड्ने, खुशी साट्ने पर्वका रूपमा पनि यसलाई मनाउने गरेका छन् ।
राजनीतिमा लागेका महिलाले पनि सशक्तीकरणको पर्वका रूपमा यसलाई अथ्र्याउने गरेका छन् । ठाउँ–ठाउँमा आयोजित तीजका कतिपय कार्यक्रममा महिला नेतृहरूले दबिएका विषयहरू उठान गर्ने गरेको पाइन्छ ।
अनुभव साट्ने थलो बन्दै
सँगै पढेका साथीहरू विभिन्न क्षेत्रमा कार्यरत रहँदा हरितालिका तीजको अवसर पारेर जम्मा भएका बेला आफ्ना अनुभव साटासाट गर्ने अवसरका रूपमा लिने गर्छन् । हाम्रो समाजमा घरबाहिर कामकाजी महिलाको संख्या बढेको छ । उनीहरू घरको काम भ्याएर बाहिरको काम गर्न सक्षम भएका छन् ।
पहिला–पहिला साडी, चोली, टीका, चुरा श्रीमानले किनिदिएनन् भन्ने खालका गीत मात्र बजारमा रुचाइन्थे र सुनिन्थे पनि । तर अचेल ‘कमाउने नि हो रमाउने नि हो’ गीत हिट भएका छन् । दिदी–बहिनी ती गीतमा रमाउने गरेका छन् ।
तीज आर्थिक चलायमानको पर्व बन्दै
केही वर्षयता हरितालिका तीजलाई आर्थिक चलायमानको पर्वका रूपमा पनि लिने गरिन्छ । तीजमा लगाइने साडी, चुरा, पोते, नेलपोलिस र श्रृङ्गारका सामानको बिक्री बढ्ने गरेको व्यापारी–व्यवसायीहरू बताउँछन् । अझ अचेल डिजिटल मार्केटिङ बढेसँगै महिलाले घरमै बसेर कपडा, गहना, मेकअपका सामान किनबेच हुन्छ ।
कार्यालयमा हुने दर खाने कार्यक्रममा एउटै डिजाइनका साडी लगाउने प्रचलन बढेकाले पनि यो पर्वलाई व्यापार प्रवद्र्धनको अवसरका रूपमा लिन थालिएको हो ।
सामीप्यता बढाउँदै
पहिले–पहिले हरितालिका तीजमा नौ डाँडा काटेर गएका चेलीबेटी जम्मा हुने गर्थे । गीत पनि त्यही खालका हुन्थे, ‘नौ डाँडा काटेर गएका चेली, भाग्यले भेट्न पाएछौँ फेरि ।’ तर अब ‘फेरि नि आयो तीज ८२ लाई लिएर, यी दिदी–दाजुभाइलाई खुशी दिएर’ जस्ता गीत बज्ने गरेका छन् ।
त्यस्तै, ‘उनी छन् र पो गाजलुको अर्थ छ, नत्र भने जिन्दगी व्यर्थ छ’ वा ‘यो तीजैको महिना हेरीहेरी ऐना, आँखैमा गाजल लपक्कै, हातैमा मेहेन्दी झपक्कै, टड्के तिलहरी, हातमा चुरी भर थरी–थरी श्रृङ्गार गरी माइतीको आँगनीमा छमछम नाच्ने हो, झमझम कम्मर भाँच्ने हो’ जस्ता गीत गुञ्जिने गरेका छन् ।
कतिपय स्थानमा महिलाका लागि स्वास्थ्य जाँच, मिष्ठान्न भोजनजस्ता सामूहिक कार्यक्रम तीजमा विशेष प्राथमिकताका साथ आयोजना गरिन्छ । महिलाहरू आफन्त र साथीहरूसँग भेटघाट गर्ने अवसरका रूपमा पनि यो पर्वलाई लिने गरेका छन् ।
काठमाडौंकै कुरा गर्ने हो भने, व्यस्तताका कारण भेट हुन गाह्रो हुने साथीभाइहरू पनि दर खाने बहानाले भेला भई रमाइलो गर्छन् ।
कामकाजी महिलाहरूले दोहोरो भूमिका निभाउनुपर्ने भएकाले साथीहरूसँग समय बिताउन नसक्ने समस्या हुन्छ । माइत जानैपर्ने परम्परा पनि टुट्दै गएको छ । टाढा माइत भएका चेलीहरूलाई कार्यालयमा लामो बिदा नपाइने हुँदा माइत जान सम्भव हुँदैन ।
कतिपय महिलाले त कार्यालयमै ब्रत बसेर काम गर्नुपर्ने अवस्था पनि आउँछ । यसरी हेर्दा अघिल्लो पुस्ताले मनाउने तीज र पछिल्ला तीज मनाउने शैली निकै फरक भइसकेको छ ।
तीज : आँसु, खुशी र इतिहासको पर्व
हाम्रा आमा–हजुरआमाको पुस्ताले त्यो बेला भोगेका पीडा र आँसु पोख्ने दिनका रूपमा मनाउँथे । त्यतिबेला समाजका समस्याहरू, बाटोघाटोको अभाव, बर्खामा खोला तर्ने कठिनाइ, सञ्चार सुविधाको कमी—का कारण आफन्त भेट्न गाह्रो पथ्र्यो । शिक्षाको अभावमा चिठ्ठी लेख्न आउँदैनथ्यो । न टेलिफोन थियो, मोबाइल नै । त्यो बेला आफन्त, माइती दाजुभाई, आमा–बाबा भेट्न हाम्रा अग्रजहरु तीज नै पर्खन्थे । त्यसैले तीज नै मिलन र दुःख पोख्ने अवसर बन्थ्यो ।
आजको पुस्ताले भने लामो समयपछि भेटेर अंकमाल गर्ने, खुशीले नाच्ने र रमाइलो गर्ने पर्वका रूपमा तीजलाई मनाउँछ ।
हरितालिका तीज सामाजिक पर्व पनि हो । यसले संस्कृति, परम्परा, रीतिरिवाज र पारिवारिक मान्यताको संरक्षण गर्छ । यसकारण यो आँसु, हाँसो र इतिहासको पर्व हो ।
महिला एकता र सशक्तीकरणको पर्वका रूपमा पनि यसलाई मनाउन थालिएको छ । तीजका माध्यमबाट छरिएर रहेका महिला शक्ति एकीकृत हुने गरेका छन् । राजनीतिक दलहरूले आयोजना गर्ने दर खाने कार्यक्रममा यसको छुट्टै महत्व रहन्छ । राजनीतिमा आवद्ध महिलाले यसलाई एकता, सशक्तीकरण र राज्यव्यवस्था परिवर्तनको अस्त्रका रूपमा पनि अथ्र्याएका छन् ।
तीजसँगै आधुनिकता र बजारीकरणले प्रभाव जमाउँदै लगेको छ । सँगै मौलिक संस्कृति नामेट हुने हो कि चिन्ता बढाएको देखिन्छ । नयाँ पुस्ताले मौलिक संस्कृतिको रक्षा गर्दै आधुनिकताको उपयोग गर्न थालेपछि यसमा अवसरसँगै चुनौती पनि बढेको छ ।
