site stats
बाह्रखरी :: Baahrakhari
देश
मौसमविद्लाई प्रश्न– काठमाडौंमा दिनभर वर्षा हुने हो ?
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंमा गएरातिदेखि नै वर्षा भइरहेको छ । काठमाडौंका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

बूढानीलकण्ठलगायत केही स्थानमा भने भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंमा आज दिनभर मौसम बदली हुने विभागको भनाइ छ । केही स्थानमा अझै पनि भारी वर्षा हुनसक्ने विभागले जानकारी दिएको छ । 

“काठमाडौंमा अझै केही समय वर्षा हुनेछ । केही घण्टापछि केही समयका लागि वर्षा रोकिए पनि पुनः वर्षा हुनेछ,” मौसमविद् सरोज पुडासैनीले भने, “केही समय रोकिने र पानी पर्नेक्रम चलिरहनेछ ।” 

काठमाडौंमा राति पनि वर्षाको सम्भावना छ । राति पनि काठमाडौंका अधिकांश स्थानमा वर्षा हुने मौसमविद् पुडासैनी बताउँछन् । 

“बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेको छ, त्यसैले नेपालमा वर्षा भइरहेको हो,” उनले भने, “अहिले देशभर बादल लागिरहेको छ ।” 

उनका अनुसार काठमाडौंमा भोलि पनि वर्षाको सम्भावना छ । भोलि पनि काठमाडौंमा आजको जस्तै मौसम रहने सम्भावना छ । 

यसैबीच, आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

लुम्बिनी प्रदेशको तराई, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । पहाडी भूभागका धेरै स्थान र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग, लुम्बिनी र कोसी प्रदेशको तराईका भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ । विभागका अनुसार बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  ०७:३२
प्रतिक्रिया दिनुहोस्