सुर्खेत । कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य समस्याका बिरामी बढ्दै गएका छन् । प्रदेशमा हाल सबै खालको मानसिक स्वास्थ्य समस्या ११.१७ प्रतिशत छ । बालबालिकामा यो समस्या ४.९ प्रतिशत छ ।
कर्णालीका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आफ्नो एकवर्षे कार्यकालमा मन्त्रालयका तर्फबाट सम्पादित कामको उपलब्धिबारे सार्वजनिक गरेको प्रतिवेदनमा मानसिक स्वास्थ्य समस्या बढेको उल्लेख छ ।
मन्त्री भण्डारीले कर्णालीमा वर्षौंदेखि व्याप्त जातीय भेदभाव, छाउपडी, लिंगका आधारमा गरिने भेदभाव, बालविवाह, परम्परागत कुसंस्कारलगायत कारणले गर्दा मानसिक स्वास्थ्य समस्या बढेको बताए ।
मानसिक स्वास्थ्यको प्रभावकारी व्यवस्थापनका निम्ति टेलिमेन्टल हेल्थ कार्यक्रमलाई समुदायस्तरमा विस्तार गरिने मन्त्री भण्डारीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
मन्त्री भण्डारीले भनेका छन्, “कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको पहलमा र विभिन्न संस्थाहरूसँगको सहकार्यमा प्रदेशका विभिन्न स्थानीय तहमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक कार्यक्रम सञ्चालन गरिएको छ ।”
यता, प्रदेश अस्पताल सुर्खेतमा कार्यरत मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शीले कर्णालीमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या धेरैजसो महिलामा देखिएको बताए । डा. समदर्शीका अनुसार, हालसम्म प्रदेश अस्पतालमा मानसिक स्वास्थ्य समस्या भएर आएका बिरामीमध्ये ६० प्रतिशत महिला छन् । ४० प्रतिशत पुरुष छन् ।
कर्णालीको गरिबी, बेरोजगारी, लागुऔषध, मादकपदार्थ सेवन, आपसी सम्बन्धमा दरार आउनुलगायत कारणले मानसिक स्वास्थ्यका बिरामी बढ्दै गएका उनले बताए ।
“२० देखि ४०/५० वर्षसम्मका बिरामीहरू मानसिक स्वास्थ्य समस्याबाट ग्रसित छन् । अभिभावकको हेलचेक्र्याइँले अझ बालबालिकाहरूमा पनि यो समस्या बढ्दो क्रममा छ,” डा. समदर्शीले भने, “यो रोग लाग्यो भने कहाँ कसलाई देखाउनुपर्छ भन्ने थाहा नभएका कारण पनि बिरामीहरू चार/पाँच वर्षसम्म रुमलिने गरेका कारण छिटो उपचार हुनबाट वञ्चित भएका छन् ।”
कर्णालीको सामाजिक विकास मन्त्रालयले मानसिक स्वास्थ्यसम्बन्धी रणनीतिक कार्ययोजना बनाई कार्यान्वयन गरिएको जनाएको छ ।
आउने दिनमा मानसिक स्वास्थ्यसम्बन्धी पूर्वाग्रह हटाउन विद्यालयस्तरमै बालमैत्री र समावेशी वातावरण निर्माणको पहल थालिने मन्त्रालयले जनाएको छ ।
