site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसी मुख्यमन्त्रीको कार्यालयअगाडि पत्रकारको प्रदर्शन

विराटनगर । कोसी सञ्चार विधेयकको विरोधमा बिहीबार (भदौ १२) पत्रकारले मुख्यमन्त्रीको कार्यालयअगाडि प्रदर्शन गरेका छन् । मुख्यमन्त्री कार्यालयअगाडिबाट थालिएको प्रदर्शन रोडशेष चोकमा पुगेर धर्नामा परिणत भएको थियो ।

नेपाल पत्रकार महासंघ कोसी प्रदेशको अगुवाइमा जुलुस निकालिएको हो । जुलुसपछिको विरोधसभामा महासंघ कोसीका अध्यक्ष भरत खड्काले प्रेस सामग्री प्रकाशन/प्रसारणमा बन्देज, पत्रकारलाई सञ्चार प्रतिष्ठानका रजिस्ट्रारमार्फत दण्डजरिवाना गर्ने प्रावधान स्वीकार गर्न नसकिने बताए ।

उनले भने, ‘‘यो विधेयक संशोधन गरेर मात्र अघि सार्नुपर्छ भनेर हामीले विभिन्न सुझाव समेत दिएका थियौँ, तर सरकारले अघि ल्याउँदा ती सुझाव ग्रहण नगरेको पाइयो ।’’

कोसी आमसञ्चार विधेयकको विरोधमा महासंघ कोसीले चरणबद्ध आन्दोलन गरिरहेको छ । बुधबार (भदौ ११) प्रदेशसभा सदस्यलाई विधेयक संशोधनको मागसहित एसएमएस पठाइएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्