काठमाडौं । साउथ अस्ट्रेलियाविरुद्धको दोस्रो अभ्यास खेलमा पनि नेपाली राष्ट्रिय क्रिकेट टिमले हार बेहोरेको छ । बिहीबार डार्विनमा भएको दोस्रो खेलमा नेपाल तीन रनले पराजित भएको हो ।
यसअघि, आजै भएको पहिलो खेलमा नेपाल यही टिमसँग तीन विकेटले पराजित भएको थियो ।
घरेलु टिमले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १५७ रनमात्र बनाउन सक्यो ।
नेपालका रूपेश सिंहले सर्वाधिक ३७ रन बनाए । लोकेश बमले ३२ र भीम सार्कीले २९ रन थपे ।
साउथ अस्ट्रेलियाका सी थम्पसनले चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २६ रन खर्चिए । एन म्याकफाड्यनले र टिम ओकलीले समान दुई–दुई विकेट लिए ।
त्यसअघि, टस जितेर ब्याटिङमा आएको साउथ अस्ट्रेलिायले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६० रनको योगफल खडा गरेको थियो ।