काठमाडौं । हुम्लामा एउटै कार्यालयमा काम गर्ने तीनजनाले महिला स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको खुलेको छ ।
ताजाकोट गाउँपालिका–३, मैला स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले जानकारी दिए ।
उनका अनुसार, अभद्र व्यवहारको आरोपमा मंगलबार राति सो स्वास्थ्यचौकीका इन्चार्ज लीलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा पक्राउ परेका छन् ।
डीएसपी पोखरेलले राति युवती सुतिरहेको बेलामा तीनैजना गएर धाकधम्की र गालीगलौज गरेका थिए ।
“राति सुतिरहेको बेलामा मदिरा खाएर तीनजना गएका रहेछन् । सोही समयमा धाकधम्की दिने र गालीगलौज गरेका रहेछन् । बलात्कारको प्रयास भन्ने आएको छ । त्यो होइन,” उनले भने । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।