site stats
बाह्रखरी :: Baahrakhari
खेल
साफ यू–१७ महिला च्याम्पियनसिप : भारतसँग नेपालको दोहोरो हार

काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले भारतसँग दोहोरो हार बेहोरेको छ । शुक्रबार भारतले दोस्रो राउन्डमा नेपाललाई ५–० ले पराजित गरेको हो । यसअघि पहिलो राउन्डअन्तर्गत उद्घाटन खेलमा नेपालले भारतसँग ७–० को लज्जास्पद हार बेहोरेको थियो । 

शुक्रबार भुटानको चिङलिमिथाङ रंगशालामा भारतलाई जित दिलाउन पियर्ल फर्नान्डेज र दिब्यानी लिन्दाले समान दुई गोल गर्दा निरा चानु लोगंजाङले एक गोल गरिन् । खेलको पाँचौँ मिनेटमा निराले भारतलाई अग्रता दिलाइन् । 

१५औँ र ४३औँ मिनेटमा फर्नान्डेजले गोल गर्दै भारतलाई ३–० को अग्रतामा राखिन् । ७९औँ र इन्जुरी समयमा दिब्यानीले गोल गरेपछि भारतले ५–० को जित पक्का गर्‍यो । 

जितसँगै भारतले शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । पाँच खेलमा शतप्रतिशत जित निकालेको भारतले १५ अंक जोडेको छ । दोस्रो स्थानको बंगलादेशले नौ अंक जोडेको छ । पराजित नेपाल तीन अंकका साथ तेस्रो स्थानमा छ । घरेलु टोली भुटान एक अंकका साथ पुछारमा छ । 

नेपालले भदौ १५ गते प्रतियोगिताको अन्तिम खेलमा भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान छन् । डबल राउन्ड रोबिन प्रणालीमा सञ्चालित यो प्रतियोगिताको उपाधि शीर्ष टोलीले उचाल्नेछ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  २२:२१
प्रतिक्रिया दिनुहोस्