काठमाडौं । कारागारबाट छुटेको १५ दिनमै चोरीको मोटरसाइकलसहित काठमाडौंबाट एक व्यक्ति पक्राउ परेका छन् ।
सर्लाहीको वाग्मती नगरपालिका–१ का ३२ वर्षीय लालबहादुर घिसिङलाई चाबी फुटाउने ‘टि’ र मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरी वृत्त गौशालाले जनाएको छ ।
घिसिङविरुद्ध विसं २०७९ वैशाख १२ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटमा डाका तथा चोरी मुद्दा चलेको थियो ।
उनीमाथि ०७९ भदौ ५ गते इलाका प्रहरी कार्यालय केशरगन्ज सर्लाहीबाट अभद्र व्यवहारमा मुद्दा चलेको प्रहरीले जनाएको छ ।
घिसिङलाई ०८० भदौ ६ गते महानगरीय प्रहरी वृत्त बानेश्वरमा मोटरसाइकल चोरीको मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध ०८० चैत १४ गते इलाका प्रहरी कार्यालय बनेपा काभ्रेमा र ०८१ वैशाख ४ र १३ गते प्रहरी वृत्त ठिमी भक्तपुरबाट चोरी तथा डाका मुद्दा चलेको थियो ।
घिसिङले ०८१ असोज ६ र ८ गते जिल्ला प्रहरी परिसर भक्तपुरमा डलर सम्बन्धी ठगी मुद्दा खेपेका थिए । सोही वर्षको कात्तिक १ गते प्रहरी वृत्त काठमाडौं स्वयम्भूबाट ठगी मुद्दामा पक्राउ परेका थिए ।
प्रहरीका अनुसार घिसिङ ०८२ साउन २६ गते कारागारबाट छुटेका थिए । छुटेको १५ दिनमै उनी मोटरसाइकल चोरीको आरोपमा पुनः पक्राउ परेका हुन् ।