काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनाल ५२ वर्षको उमेरमा कलेज भर्ना भएका छन् । हेटौँडा उपमहानगरपालिका–१९, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसमा उनी हाल स्नातक तह पहिलो वर्षमा समाजशास्त्र र स्वास्थ्य विषय अध्ययन गरिरहेका छन् ।
खनाल हाल दोस्रो कार्यकालका निम्ति वडाध्यक्षको जिम्मेवारीमा छन् । गाउँमा आयोजना हुने कार्यक्रमहरूमा शिक्षित व्यक्तिहरूको सक्रियता र प्रभाव देख्दा आफू पनि त्यस्तै बन्ने चाहना दिनप्रतिदिन बलियो हुँदै गएको उनले बताए ।
विगतमा विदेश जाने सपना बोकेका खनालले पाँचपटक पासपोर्ट बनाए पनि अवसर जुरेन । उनले बस बेचे । पसल गरे । कुखुरापालनजस्ता काम पनि गरे । तर, ऋणको चक्रव्यूहबाट उम्कन सकेनन् ।
वडाध्यक्ष बन्नुअघि खनालको मुख्य चाहना एउटा विद्यालयको अध्यक्ष बन्ने थियो । ०७४ सालमा उनी पहिलोपटक वडाध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि बाल जीवनज्योति विद्यालयको अध्यक्षको भूमिका समेत उनले सम्हाले ।
उक्त विद्यालयमा लगाइएको सप्ताहपूजाबाट संकलित पैसाबाट कक्षा–१२ सम्मको पठनपाठन सुरु गर्ने निर्णय उनले नै थिए । हाल उक्त विद्यालयको नयाँ भवन निर्माण भइसकेको छ ।
खनालले ०५२ सालमा एसएलसी उत्तीर्ण गरेका थिए । उनी २७ वर्षपछि ०७९ मा कक्षा–११ मा भर्ना भए । त्यो पनि आफैँले १२ कक्षा बनाएको विद्यालयमा । उनले ०८१ मा कक्षा–१२ उत्तीर्ण गर्दै २.६ जीपीए ल्याए । त्यही आत्मविश्वासले उनलाई अझ उच्च शिक्षा हासिल गर्ने हौसला दियो । न्युज एजेन्सी नेपाल