काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको बताएका छन् । ३३औँ महानगर प्रहरी दिवसका अवसरमा शनिबार (भदौ १४) काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सानोमा आफूले हलिउड फिल्म हेर्दा सिटी पुलिसले गरेको जस्तो काम हाल काठमाडौं महानगर प्रहरीले गरिरहेको उनले उल्लेख गरे । फिल्ममा देखाइएको काम ‘रियल’मा हुनु खुसीको कुरा भएको उनले बताए ।
काठमाडौं महानगरबाट धेरै पालिकाले काम गर्ने शैली सिक्न खोजेको उनले सुनाए । त्यसमा महानगर प्रहरीको ठूलो योगदान रहेको उनको भनाइ छ ।
काठमाडौं महानगरपलिकाभित्रका सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, अतिक्रमण हटाउने, महानगरमा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने काममा नगरप्रहरीको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए ।
कार्यक्रममा मेयर बालेनको भनाइ पढ्नोस्–
धेरै पालिकाहरू छन्, धेरै ठाउँहरू छन्, काठमाडौं महानगरपालिकाबाट केही सिक्न चाहन्छन् । जुन ठाउँहरूले काठमाडौं महानगरपालिकाबाट केही सिक्न खोज्नुहुन्छ, त्यो सिकाइमा तपाईंहरू (महानगर प्रहरी)को ठूलो योगदान छ । सार्वजानिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउनेदेखि लिएर काठमाडांै महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरूमा तपाईंहरूको उल्लेखनीय योगदान रहेको छ । सानोमा हुँदा रमाइलो याद आउँछ, हामी हलिउड फिल्महरू हेर्थ्यौँ, पुराना पुराना फिल्महरू हेर्दाखेरि त्यसमा न्युयोर्क सिटी पुलिसको काम–कारबाही हेर्दाखेरि लाग्थ्यो, काठमाडौंलगायत देशका विभिन्न पालिकाहरूमा सिटी पुलिस कस्तो हुनुपर्छ भन्ने कुराहरू सिनेमामा मात्रै हेर्न पाइन्थ्यो पहिला । र, अचेलचाहि तपाईंहरूको काम हेर्दाखेरि कहिलेकाहीँ सिनेमा हेरेजस्तो पनि लाग्छ । त्योचाहिँ खुसीको कुरा हो । काठमाडौं महानगरपालिकालाई जसरी एउटा राजधानीको रूपमा चिनिन्छ, महानगर प्रहरी बल पनि काठमाडौंको एउटा पर्यायवाची पहिचानको रूपमा स्थापित भएको छ । तपाईंहरूले देखाउनुभएको कर्मनिष्ठा, योगदानहरू अहिलेको बितेको तीन वर्षमा मात्रै नभएर आगामी दिनहरूमा पनि विभिन्न सिटी पुलिस तथा स्थानीय सरकारहरूलाई एउटा सिकाईंको रूपमा रहनेछ । न्युज एजेन्सी नेपाल