site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चार मुक्तक

१.
पहिले मेरो प्रेमपूजा धूपबत्ती बाली गर
त्यसपछि मलाई माया गर या गाली गर
प्रेममा उतारचढाव त भइहाल्छ, त्यसैले
त्यो दिल जतिसक्दो चाँडो खाली गर ।

२.
मुलुक त मुसाले काटेझैँ धुजा धुजा भो
चम्चाहरूबाट भ्रष्टहरूको नित्यपूजा भो
बेस्वादको अनि नमिठो देशको पद्धति
धेरै पुरानो सडेको चामलको भुजा भो ।

३.
करोडपति, अर्बपति, जोगीको व्यापार चल्दछ
अनि अन्धभक्तहरूको दिलको दियो बल्दछ
शिष्यहरूलाई बेबकुफ बनाएर मक्ख पर्दै
थैलो भरेर धोकेबाज बाबा सीमापारि चल्दछ ।

४.
हाम्रो प्रेम हराभरा हो कि मात्र खनखोस्रो हो ?
तिमीले दिने माया खँदिलो हो कि फोस्रो हो ?
तिम्रो फट्याइँले एउटा प्रश्न सोध्न मन लाग्यो
तिमीसँग प्रेम गर्ने म तेस्रो हो कि दोस्रो हो ?

(बूढानीलकण्ठ) 
 

प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  १६:५७
प्रतिक्रिया दिनुहोस्