काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले आज घरेलु टोलीविरुद्ध प्रतिस्पर्धा गर्दै छ । खेल भुटानको चिङलिमिथाङ रंगशालामा नेपाली समयानुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।
खेलमा नेपाल भुटानविरुद्ध दोहोरो जितको खोजीमा हुनेछ । नेपालले यसअघि पहिलो राउन्डमा भुटानलाई २–१ ले हराएको थियो ।
भुटान भने प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ । भुटानले प्रतियोगितामा पाँच खेल्दा पनि जित निकाल्न सकेको छैन । पहिलो राउन्डमा भुटान नेपालसँग २–१ ले, भारतसँग ८–० ले, बंगलादेशसँग ३–१ ले हारेको थियो । दोस्रो राउन्डमा भुटानले बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो । भुटान दोस्रो राउन्डमा भारतसँग ५–० ले पराजित भएको थियो ।
प्रतियोगितामा भारत शीर्ष स्थानमा छ । सबै खेल पाँचमा विजयी भएको भारतले १५ अंक जोडेको छ । बंगलादेश १० अंकका साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको नेपालले तीन अंक जोडेको छ । एक अंकका साथ भुटान पुछारमा छ ।
डबल राउन्ड रोबिन पद्धतिअनुसार सञ्चालित यो प्रतियोगिताको उपाधि शीर्ष टोलीले उचाल्नेछ ।