site stats
बाह्रखरी :: Baahrakhari
खेल
कठिन जितपछि युनाइटेडका प्रशिक्षकको प्रतिक्रिया– ब्रुनोको पेनाल्टी प्रहार हेरिनँ

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मुख्यप्रशिक्षक रुबेन एमोरिमले बर्न्लीविरुद्ध मिडफिल्डर ब्रुनो फर्नान्डेजले गरेको पेनाल्टी प्रहार आफूले नहेरेको बताएका छन् ।

इंग्लिस प्रिमियर लिगमा बर्न्लीविरुद्ध ३–२ को कठिन जित निकाल्दा अन्तिम मिनेटमा युनाइटेडले पेनाल्टी प्राप्त गरेको थियो । पेनाल्टी प्रहारका निम्ति फर्नान्डेज अघि बढ्दै गोल गर्दा युनाइटेडले कठिन तीन अंक सुनिश्चित गरेको थियो ।

तर, एक साताअघिमात्रै फर्नान्डेजले नै पेनाल्टी सदुपयोग गर्न नसक्दा युनाइटेडले चौथो डिभिजनको क्लब ग्रिम्सीसँग पराजय बेहोरेको थियो । शनिबार रातिको खेलमा भने फर्नान्डेजले कुनै गल्ती गरेनन् ।

“म हाम्रा समर्थकहरूको तस्बिर हेर्न चाहन्छु । जे हुने हो, त्यो हुन्छ नै । पेनाल्टी प्राप्त गरेको समयमा ब्रुनोले लगातार दुई पेनाल्टी मिस गर्नेछन् भन्ने सोचेको थिइनँ । मलाई लाग्छ हामी जितका निम्ति योग्य थियौँ,” जितपछि प्रशिक्षक एमोरिमले भने ।

लिगमा तीन खेल खेलिसकेको युनाइटेडको पहिलो जित हो । तालिकाको नवौँ स्थानमा रहेको युनाइटेडले चार अंक जोडेको छ । जुन शीर्ष स्थानको चेल्सीभन्दा तीन अंक कम हो । समान खेलबाट तीन अंक जोडेको बर्न्ली तालिकाको १२औँ स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्