site stats
बाह्रखरी :: Baahrakhari
खेल
आसामविरुद्धको चौथो खेलमा नेपाल १८ रनले पराजित

काठमाडौं । भारतको आसाम राज्यविरुद्धको चौथो खेलमा नेपाल ‘ए’ ले १८ रनको हार बेहोरेको छ । आइतबार एसीए रंगशाला गुवाहिटीमा सम्पन्न खेलमा आसामले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर १५६ रनमात्र बनाउन सक्यो । 

नेपालका कप्तान अनिल साहले सर्वाधिक ६७ रन बनाए । यस्तै, इशान पाण्डेले २८ रन थप्दा सन्दीप जोरा, मोहम्मद आदील आलम र शेर मल्लले समान ११ रन जोडे । 

आसामका अब्दुलअजिज कुरैसी र अभिनव चौधरीले समान तीन विकेट लिए । साद्दिक हुसैनको नाममा एक विकेट रह्यो । 

त्यसअघि टस जितेर ब्याटिङमा आएको आसामले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७४ रनको योगफल खडा गरेको थियो । आसामका ओपनर तथा कप्तान सुमित खाडिगाओन्करले सर्वाधिक ७० रन बनाए । यस्तै, अर्का ओपनर ऋषिकेश तामुलीले ४६ रन थपे । निहार देकाले ३७ रन बनाए । 

नेपालका आकाश चन्दले दुई र बसिर अहमेदले एक विकेट लिए । यो जितसँगै पाँच खेलको शृंखला २–२ को बराबरीमा आएको छ । 

यसअघि पहिलो खेलमा नेपालले डकवर्थ लेविस पद्दति (डीएलएस) अनुसार १५ रनको हार बेहोरेको थियो । तर, यसपछि दोस्रो र तेस्रो खेलमा भने नेपालले ९६ र नौ रनको जित निकालेको थियो । यी दुई टिमबीचको पाँचौँ तथा अन्तिम खेल सोमबार (भोलि) हुनेछ ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  २१:४४
प्रतिक्रिया दिनुहोस्