काठमाडौं । अन्तिम खेलमा भुटानसँग १–१ को बराबरीमा रोकिएसँगै साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल तेस्रो स्थानमा खुम्चिएको छ ।
आइतबार भुटानको चिङलिमिथाङ रंगशालामा नेपालले अग्रतालाई जोगाउन नसक्दा अंक बाँडेको हो । खेलको १५औँ मिनेटमा बबिता कार्कीको गोलमा नेपालले अग्रता बनाएको थियो । तर, पहिलो हाफमा नै सोनम यांगघेनले गोल फर्काएपछि भुटान खेलमा फर्किएको हो ।
यो नतिजासँगै नेपालले चार अंकका साथ तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको छ । नेपालले ६ खेल खेल्दा एक जित र एक बराबरीसहित यो नतिजा आत्मसाथ गरेको हो । नेपालले प्रतियोगिताको पहिलो चरणमा भारतसँग ७–० र बंगलादेशसँग ३–० को हार व्यहोर्दा भुटानसँग २–१ को जित निकालेको थियो । दोस्रो चरणमा नेपालले बंगलादेशसँग ४–१ र भारतसँग ५–० को हार व्यहोरेको थियो ।
दुई अंक जोडेको भुटानले भने पुछारमा रहँदै प्रतियोगिताका अन्त्य गरेको छ । प्रतियोगिताको ६ खेलमध्ये पाँच खेलमा अपराजित रहेको भारत १५ अंकसहित च्याम्पियन बनेको छ । समान खेलबाट १३ अंक जोडेको बंगलादेश प्रतियोगितामा दोस्रो भयो ।