site stats
बाह्रखरी :: Baahrakhari
देश
बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा, महाकालीको जलस्तर बढ्यो
फाइल तस्बिर ।

कञ्चनपुर । अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर डुबानमा परेको छ । आइतबार (भदौ १५) रातिदेखिको वर्षाले डुबान भएको हो । भीमदत्त र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा पस्दा ४५ घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी सागर बोहराले दोधारा चाँदनी–८, रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेको बताए ।

यस्तै, दोधारा चाँदनी–३, पटराखल्लाका १५ घर डुबानमा परेको उनले बताए ।

“दोधारा चाँदनीमा जोडबुढा नदी बस्तीमा पस्दा २५ घर डुबानमा पर्दा ७० जना विस्तापित भएका छन् । उहाँहरूलाई नजिककैको विद्यालयमा राखिएको छ,” उनले भने, “डुबानमा परेका परिवार र चौपायालाई सुरक्षित स्थानमा सारिएको छ ।”

पटराखल्लाका घरपरिवारका ५५ जना, उनीहरूका सरसामान र चौपाया समेत नजिककैको जमुना आधारभूत विद्यालयमा राखिएको उनले बताए ।

महाकालीमा बढ्यो जलस्तर
अविरल वर्षापछि महाकाली नदीको जलस्तर बढेको छ । जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा चार र तीनपांग्रे सवारीसाधनको आवागमनमा रोक लगाएको छ ।

डीएसपी बोहराले नदीमा पानीको सतह बढेर एक लाख ४० हजार २५० क्युसेक प्रतिसेकेन्ड पुगेको बताए ।

नदीमा पानीको बहाव एक लाख क्युसेक प्रतिसेकेन्ड पुगेपछि भारतीय पक्षले आवागमनमा रोक लगाउँदै आएको छ । रासस

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १४:०२
प्रतिक्रिया दिनुहोस्