दोधारा चाँदनी । महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० स्थित कुतियाकवर जोखिममा परेको छ ।
पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ । यो बस्तीमा महाकाली नदीको लगातारको कटानले बढी क्षति पुगेको हो । स्थानीयका अनुसार नदीको कटानले यहाँ दुई बिघाभन्दा बढी जमिन नदीमा समाहित भइसकेको छ ।
बस्ती जोगाउन सरकारसँग पटकपटक आग्रह गरे पनि नदीको कटान रोक्न तटबन्ध निर्माण हुन नसकेको स्थानीय टेकबहादुर सुनारले बताए । उनका अनुसार डुबान र कटानका कारण यहाँबाट अधिकांश बसाइँ सरेर अन्यत्र गइसकेका छन् ।
“नदीले निरन्तर कटान गरिरहेकाले नदी बस्ती छेउमा पुगिसकको छ । सरकारले यहाँ तटबन्ध निर्माण गर्नुपर्नेमा हालसम्म नगर्दा बस्ती साघुँरिदै गएको छ”, उनले भने, “नदीले बर्सेनि खेतीयोग्य जमिन कटान गर्दै आएको छ । हामीलाई त बस्ती नै नदीमा समाहित हुने चिन्ता बाढ्दै गएको छ ।”
विसं २०२२ देखि बस्ती बसेको कुतियाकवरमा यसअघि १५० परिवारको बसोबास थियो । महाकाली र जोगबुढा नदी बस्ती पस्न थालेपछि १०० परिवार विस्थापित भएका छन् । विसं २०७४ मा जोगबुढा नदीमा झोलु्रंगे पुल बनेर नगरसँग जोडिएपछि स्थानीयलाई केही राहत भएको थियो । त्यसअघि स्थानीयलाई नगरपालिका पुग्न ढुंगाको प्रयोग गर्नुपर्ने बाध्यता थियो ।
दोधारा–चाँदनीका नगरप्रमुख किशोर लिम्बूले कुतियाकवरमा महाकाली नदीले कटान गरिरहेकाले बस्तीको सुरक्षाका लागि दुईवटा ‘सेफहाउस’ (सुरक्षित आवास) निर्माण गरिएको बताए ।
“महाकाली नदीले बस्तीको भूभाग कटान गरिरहेको छ, हामीले पानी घटेको स्थानमा ग्राभेल हालेर सुरक्षाको उपाय अपनाइरहेका छौँ”, उनले भने, “मानवीय क्षति हुन नदिन पालिकाले संयन्त्र बनाएर काम गरिरहेको छ ।”
बाढीबाट कुतियाकवर बस्ती जोगाउन सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले जोगबुढा नदीमा ८१६ मिटर लामो तटबन्ध निर्माण सुरु गरेको थियो । ढिलोगरी ठेक्का सुरु भएकाले नदीमा पानी बढेपछि निर्माण व्यवसायीले काम नगर्दा पूर्ण हुन नसकेको नगरप्रमुख लिम्बूले जानकारी दिए ।
तटबन्ध निर्माणका लागि कार्यालयले गत चैत २५ गते पाँच करोड १६ लाख ६७ हजारमा शंकर कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ८१६ मिटर लामो तटबन्ध आगामी चैत २५ भित्र सम्पन्न गरिसक्नु पर्नेछ । रासस